काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबार प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच वटा प्रदेशका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
प्रादेशिक छात्रवृत्ति पाउनेहरूमा मधेस प्रदेशबाट अभिषेक कुमार यादव, बागमती प्रदेशबाट सुवास गिरी, गण्डकी प्रदेशबाट पार्वती पनेरु, लुम्बिनी प्रदेशबाट विजयकुमार यादव र सुदूरपश्चिम प्रदेशबाट सरोज देउवा रहेका छन् ।
कोसी प्रदेश र कर्णाली प्रदेशबाट भने प्रादेशिक छात्रवृत्ति छनौट बाँकी रहेको छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान अझै केही दिन बाँकी रहेकाले दुई प्रदेशको प्रादेशिक छात्रवृत्ति वितरण गर्न बाँकी छ ।
छात्रवृत्ति पाउने विद्यार्थीहरूले क्रमशः इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, वीडीएच, सिभिल एन्ड रुलर इन्जिनियरिङ विषयमा अध्ययन गर्नेछन् । छात्रवृत्ति पाउने सबै विद्यार्थीहरूले सामुदायिक विद्यालय अध्ययन गरेका छन् ।
कलेजले प्रादेशिक छात्रवृत्ति प्रदान गरेर दूर दराजमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षा हासिल गर्ने अवसर दिएकोमा विद्यार्थीहरूले कृतज्ञता व्यक्त गर्दै मेहनत गरेर अध्ययन गर्ने बताए ।
कलेजका सहायक प्राचार्य मोहन ध्वज केसीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै पोखरा विश्वविद्यालयको छात्रवृत्ति मापदण्ड अनुसार प्रादेशिक छात्रवृत्तिको परीक्षा लिइएको बताउँदै कलेज सदैव जेहेन्दार र मेहनती विद्यार्थीहरूको पक्षमा रहेको बताए।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले छात्रवृत्तिको मर्यादा र गरिमालाई कायम राख्ने गरी मेहनतका साथ अध्ययन गर्न सुझाए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको इन्जिनियरिङ शिक्षामा पहुँच पुगोस् भन्ने हेतुले कलेजले प्रादेशिक छात्रवृत्ति दिँदै आएको प्राचार्य भण्डारीको भनाई छ ।
कलेजले हरेक वर्ष ७० लाख बराबरको प्रादेशिक छात्रवृत्ति वितरण गर्ने बताउँदै प्राचार्य भण्डारीले कलेजले बर्सेनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताए ।
कलेजले चाँगुनारायण नगरपालिकाका चार वटा वडाका दुई जना विद्यार्थी, बागेश्वरी मनहरा नगरपालिकाको वडा नं. ७ गरी पाँच वटा वडा बाहेक चाँगुनारायण नगरपालिकाले सिफारिस गरेका गरिब, जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति र ५० प्रतिशत छुट सहितको छात्रवृत्ति दिँदै आएको छ । यसका अलावा कलेजमा कार्यरत शिक्षक कर्मचारीका सन्ततिहरूका लागि पनि छात्रवृत्ति दिँदै आएको छ । इन्जिनियरिङ अध्यनार्थ भर्ना हुने विद्यार्थीको आर्थिक, शैक्षिक अवस्था हेरेर विभिन्न छुटहरू पनि दिइने गरिएको कलेजले जनाएको छ । मुनाफारहित शैक्षिक संस्था भएकाले हरेक वर्ष कलेजले करिब १५ करोड बराबरको विभिन्न छात्रवृत्ति र छुटहरू दिँदै आएको कलेजको भनाई छ ।
त्यसो त सामाजिक उत्तरदायित्व अन्तरगत गत वर्ष जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावित सामुदायिक विद्यालयका पाँच जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तहमा इन्जिनियरिङ विधामा सिभिल, सिभिल एन्ड रुलर, कम्प्युटर, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, सिभिल फर डिप्लोमा होल्डर्स तथा आर्किटेक्टको पढाई हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया