काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार नियन्त्रणमा राज्य अझ बढी सक्रिय जरुरी देखिएको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरूप पनि जटिल हुँदै गएकाले राज्य अझ बढी सक्रिय हुनुपर्ने बताए । उनले भ्रष्टाचार संगठित अपराध भएकाले भ्रष्टाचारले प्रजातान्त्रिक संस्थाहरुलाई पनि कमजोर पार्ने बताए । उनले भ्रष्टाचारले घुसखोरी र अनियमिततालाई बढवा दिएर आर्थिक विकासलाई सुस्त बताउने बताए । उपप्रधानमन्त्री सिंहले भ्रष्टाचारले निर्वाचन प्रणालीलाई प्रभावित पार्ने, राजनीतिक अस्थिरता निम्त्याउने काम गर्ने भन्दै समस्याको पहिचान गरी समस्या समाधान गर्नको लागि साझा प्रयास आवश्यक भएको उल्लेख गरे ।
उनले सुशासन कायम गरी सेवाग्राहीहरुलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व भएको र सुशासनको लागि भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रवर्द्धन अनिवार्य सर्त रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने कार्यमा राज्यको सबै जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीहरुले गम्भीरतापूर्वक आफ्नो दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिबद्ध हुनुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले राज्यको विद्यमान संरचनाअनुरुप भ्रष्टाचार रोकथामका लागि तीन वटै तहका सरकारका भूमिकालाई स्पष्ट गर्न नेपाल सरकारले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया