काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले अपमानजनक व्यवहार गरेको भन्दै कटाक्ष गरेका छन् ।
लामिछानेलाई चितवनबाट पोखरा पुर्याइएको विषयमा प्रतिक्रिया जनाउँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै त्यसलाई रोक्न माग गरे ।
‘यसबीचमा हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
जुनसुकै पदीय वा अन्य हैसियतको व्यक्ति भए पनि भ्रष्ट्राचारको अनुसन्धान हुनुपर्ने र लामिछानेको सन्दर्भमा पनि त्यो कुरा लागु हुने बताए । तर सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका केही नेताहरुलाई बचाउने तर लामिछानेमाथि यो या त्यो बहानामा दुख दिने काम भइरहेको उनको आरोप छ ।
‘यस सन्दर्भमा हाम्रो स्पष्ट दृष्टिकोण र मत छ कि जुनसुकै पदीय वा अन्य जुनसुकै हैसियतको भएपनि भष्टाचारको अनुसन्धान हुन सक्छ वा हुनुपर्छ र स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भएपनि कारवाही गरिनु पर्दछ । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री श्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं।तर सरकारले श्री लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया