काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अध्यक्ष सिलवालले पटकपटक नागरिकतामा जन्ममिति संशोधन गरेको, राहदानीमा जन्ममिति केरमेट र जालझेल गरेको तथा अनिवार्य अवकाशमा जाँदा समेत बहाल रहेको आरोपमा मुद्दा दायर गरेको हो ।
उनको नागरिकता अनुसार ०८० साल साउन १६ गतेबाट उनी ६६ वर्षमा प्रवेश गरे । तर ६५ वर्षमा अनिवार्य अवकाशमा जानुपर्ने भए पनि उनी पदमा बसिरहेका थिए ।
अख्तियारका अनुसार २०३२ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट उनले नागरिकता लिँदा उनको उमेर १६ वर्ष कायम गरिएको थियो । तर पछि २०६६ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौं जारी भएको नागरिकताको प्रतिलिपि प्राप्त गर्दा उनको जन्ममिति २०१६ साल कार्तिक २२ गते उल्लेख भयो ।
तर त्रिभुवन विश्वविद्यालयबाट डिप्लोमाको ट्रान्सक्रिप्टमा उनको जन्ममिति २०१५ साल साउन १५ गते उल्लेख गरिएको थियो । त्यस्तै उनी स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरणमा उनको ट्रान्सक्रिप्टकै जन्ममिति अर्थात् २०१५ साल साउन १५ गते उल्लेख रहेको र सोही आधारमा उनी ०४३ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी ०७३ सालमा नै ३० वर्षे अवधी सकिइ अनिवार्य अवकासमा जानुपर्नेमा उनले आफ्नो जन्ममिति २०१५ साल साउन १५ गते उल्लेख गरी पदमा बहाल रहेका थिए । तर उनले प्राप्त गरेको कुटनीतिक र विशेष राहदानीमा भने उनले आफ्नो उमेर ३ वर्ष घटाएका थिए । उनी स्वयंले आफ्नो जन्ममिति २०१८ साल कार्तिक १४ गते देखाएका थिए ।
उनको ट्रान्सक्रिप्टमा उल्लेख भएको जन्ममिति अर्थात् २०१५ साल साउन १५ गतेको मितिका आधारमा २०७७ साल माघ २२ गते उनी बीमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए । उनले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशमा, ‘पदावधी समाप्त हुनु अगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वतः अवकास हुनेछ,’ भनि उल्लेख गरिएको छ ।
उनले सो वाक्यांशको आधारमा शपथ लिए पनि उनले जागिर खाँदा उल्लेख गरेको जन्ममिति अनुसार उनको अवकाश ०८० साल साउन १५ गते नै हुनुपर्ने हो । तर उनी हालसम्म पनि बीमा प्राधिकरणको अध्यक्षका रुपमा रहेका छन् ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिलवालले भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिमको कसुर गरेको जानकारी दिए ।
उनले ०८० साल साउन १५ गतेदेखि हालसम्म राष्ट्रको ढुकुटीबाट ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ बराबरको सुविधा लिएका छन् । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को ख र कसुरजन्य सम्पत्ति तथा साधन ऐन, २०७० को दफा ११ बमोजिम असुल उपर हुने मागदाबीसहित विशेष अदालतमा आरोपत्र दायर गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया