नर्मल डेलिभरीलाई प्रोत्साहन गर्न ग्राण्डीमा निःशुल्क गर्भ संस्कार कक्षा 

लोकपथ
0
Shares

काठमाडौं। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क गर्भ संस्कार कक्षा सञ्चालन गरेको छ । काठमाडौंको धापासीमा रहेको ग्राण्डीले नर्मल डेलिभरीलाई प्रोत्साहन गर्न प्रत्येक महिना गर्भ संस्कार कक्षा सञ्चालन गर्दै आइरहेको हो ।

गर्भ संस्कार कक्षा कार्यक्रमका संयोजक सुजना पोखरेलले हरेक महिनाको अन्तिम बुधबार उक्त कक्षा सञ्चालन गरिँदै आएको जानकारी दिए । उनले भने, ‘महिला तथा प्रसूति डाक्टर, वरिष्ठ नर्स, फिजियोथेरापिष्ट, डाइटिसियन, नवजात शिशुको डाक्टर लगायतको सहभागितामा उक्त कक्षा सञ्चालन हुँदै आइरहेको छ ।’

पछिल्लो समयमा अप्रेसनको माध्यमबाट बच्चा जन्माइँदै आएको अवस्थामा ग्राण्डीले नर्मल डेलिभरीलाई प्रोत्साहन गर्नका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। उक्त कक्षामा गर्भवती अवस्थामा गरिने शारीरिक व्यायाम, पोसिलो आहार विहार, स्तनपान र नवजात बच्चाको स्याहार सुसार लगायतका बारेमा सिकाइन्छ । 

यस्तै, गर्भवती महिलामा हुने मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने, गर्भ अवस्थामा हुने समस्याको समाधान कसरी गर्ने भन्ने बारे समेत सिकाइने गरेको अस्पतालले जनाएको छ । उक्त कक्षामा परिवार योजना बारे पनि जानकारी दिइन्छ। 

कक्षामा गर्भवती महिलाका परिवारलाई समेत गर्भ संस्कारका बारेमा जानकारी गराइने गरिएको छ । उक्त कक्षामा अस्पतालमा जाँच गरिरहेका गर्भवती महिला र अन्य जुनसुकै अस्पतालमा जाँच गरेका महिलाले पनि सहभागिता जनाउन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?