काठमाडौं । काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ को आयोजना गर्ने भएकाे छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष हरि प्रसाद घिमिरेले आगामी पौष १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम हुने जानकारी दिएका हुन् ।
कार्यक्रममा अध्यक्ष घिमिरेले विवाह फोटोग्राफीमा लाग्न चाहने साथीहरूको मनोबल उच्च पार्नका लागि २०१२ देखि विवाह फोटो प्रतियोगिता गर्दै आएकाे बताए । साथै उनले फोटोग्राफरहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको पनि बताए ।
अध्यक्ष घिमिरेको नेतृत्वमा काठमाडौं फोटोग्राफर संघले विवाह फोटोग्राफीलाई एक महत्वपूर्ण कला र व्यवसायको रूपमा प्रतिष्ठा दिलाउनका लागि काम गर्दै आएको छ।
अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम दुईवटा उत्कृष्ट फोटोहरू पेस गर्नुपर्ने छ । साथै विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पनि पठाउनु पर्नेछ ।
फोटो तथा भिडियो मंसिर ३० गतेसम्ममा पठाइसक्नु पर्नेछ । अवार्डको मुख्य विधा अन्तर्गत प्रथम घोषितलाई फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया