काठमाडौं । कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण सम्पन्न भएको छ । आईटी तालिम प्रदायक दूर शिक्षाले डिस्कभरि एजुकेसन नेटवर्क युके र एडुटेकको सहकार्यमा आयोजना गरेको यस चरणमा सहभागी ८० विद्यार्थी मध्ये नौ जना ग्लोबल कम्पिटिसनका लागि छानिएका हुन् ।
विभिन्न विधाबाट छानिएका नौ जना विद्यार्थी फेब्रुअरी २०२५ मा युकेमा हुने ग्लोबल कम्पिटिसनका लागि छनोट भएका छन् । ग्लोबल कम्पिटिसनमा छानिएका नेपाली विद्यार्थीहरूले अब भारत, हङकङ, मिडल इस्ट, युके, अमेरिका, अस्ट्रेलिया लगायत देशका सहभागीसँग प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो चरणको कोडिङ प्रतियोगिताको उद्घाटन गर्दै सूचना प्रविधि विज्ञ डा. राजीव पाण्डे सुब्बाले प्रतियोगिताले बालबालिकाको तार्किक सोच, समस्या समाधान क्षमता र डिजिटल सीपलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।
४०० भन्दा बढी विद्यार्थीले अनलाइनबाट परियोजना पठाएकोमा भौतिक प्रतिस्पर्धामा ८० जना छानिएका थिए । यस चरणमा विद्यार्थीहरूले अत्यन्तै प्रभावकारी प्रोजेक्ट तयार पारेको दूर शिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले बताए । उनले प्रतियोगिताले सहभागीहरूलाई आफ्नो कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मद्दत पुर्याएको बताए । यो प्रतियोगिताले उत्कृष्ट प्रतियोगीलाई विश्व मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको पाण्डेले बताए ।
यस प्रतियोगितामा कक्षा २ देखि ४ का विद्यार्थीहरूले जुनियर ब्लक–आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक–आधारित कोडिङ र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथनमा आधारित रही विभिन्न थिममा प्रोजेक्ट तयार गरेका थिए ।
कार्यक्रममा ‘गर्ल्स हु कोड’ अभियान समेत सञ्चालन गरिएको थियो, जसले छात्राहरूको सहभागिता अभूतपूर्व रूपमा बढाएको आईसीटी फ्रेमकी अध्यक्ष मिना अर्यालले बताइन् । उनका अनुसार दोस्रो चरणको प्रतिस्पर्धामा ५० प्रतिशतभन्दा बढी छात्राहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताले बालबालिकाको समस्या समाधान, रचनात्मकता र डिजिटल साक्षरताको विकासमा ठुलो योगदान दिएको भन्दै अभिभावकहरूले पनि खुसी व्यक्त गरेका छन् ।
ग्लोबल प्रतिस्पर्धामा चयन भएका विद्यार्थीहरू यस प्रकार छन् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया