काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । सुरुवाती ४ खेल गुमाएको लुम्बिनीले त्रिवि क्रिकेट मैदानमा आज मंगलबार भएको पाँचौ खेलमा चितवन राइनोजमाथि ३३ रनको जित निकालेको हो ।
लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीविरुद्धको खेलमा चितवनका वेन केनस्टाइनले बनाएको ३१ रन नै चितवनका लागि सर्वाधिक रह्यो । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । उनले आफ्नो स्पेलमा १७ रन दिए । रेमोन सिमोन्डले २ विकेट झारे । साद विन जफर र अविशेष गौतमले समान एक विकेट लिए । नर बहादुर कार्की २२ र रिजन ढकाल २२ रनमा नटआउट रहे ।
यसअघि कप्तान रोहित पौडेलले सानदार इनिङ्स खेलेपछि लुम्बिनी लायन्सले चितवन राइनोजलाई १ सय ६८ रनको लक्ष्य दिएको थियो । लुम्बिनीले चितवनविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो ।
प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रन बनाएपछि कमजोर सुरुआत गरेको लुम्बिनीले चुनौतीपूर्ण स्कोर दिन सफल भएको थियो । उनले ६ चौका र ५ छक्का प्रहार गर्दै क्यानडाका पूर्व कप्तान साद बिन जाफरसँग पाँचौं विकेटका लागि ७० बलमा १ सय १४ रनको साझेदारी गरेका थिए । रोहित अन्तिम २० औं ओभरको तेस्रो बलमा आउट भएका थिए । त्यसपछि आएका सन्दीप जोराले पहिलो बलमा चौका प्रहार गरे पनि अर्को दुई बलमा बिट भएका थिए । इनिङ्सको अन्तिम ओभरमा रनआउट भएका जाफरले ३५ बल खेली ४ चौका र १ छक्कासहित ५२ रन बनाएका थिए ।
रिजन ढकालले चितवनलाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । खेलको दोस्रो ओभर एवं आफ्नो पहिलो ओभरमा उनले आशुतोष घिरोहियालाई १ र उन्मुक्त चन्दलाई शुन्यमा बोल्ड गरेका थिए । अर्जुन साउद १२ बलमा १५ र टम मुर्स ५ बलमा १० रन बनाई आउट भएका थिए ।
रिजनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका थिए । कप्तान कुशल मल्लले ४ ओभरमा ४२ र रन्जीत कुमारले ४ ओभरमा २६ रन खर्चेर १–१ विकेट लिए । पाकिस्तानी भेट्रान तीब्र बलर सोहेल तनवीरले ४ ओभरमा २७ रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया