नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

लोकपथ
294
Shares

नवलपरासी । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो । 

आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो । मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ । 

‘पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ,‘ उनले भने, ‘अहिले सबबेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुंगाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।’ यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले बताए। 

त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुंगाको पर्खाल लगाउने काम भइरहेको इन्जिनियर खनालको भनाइ छ । 

गैँडाकोट, देवचुली र मध्य विन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए । सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, छ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको खनालले जानकारी दिए । 

‘अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ, ’उनले भने, ‘निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ ।’ यस खण्ड (गैँडाकोट–दाउन्ने) मा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको इन्जिनियर खनालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?