चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसद्को विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए ।
राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताए ।
आफूले प्रधानमन्त्री हुँदा रुग्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए ।
अध्यक्ष प्रचण्डले देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताए ।
आफ्नाहरुलाई जोगाउदै सारा ठगी नै रबि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको प्रचण्डको आरोप रहेको छ ।
उनले भने– ‘तपाईँ हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ । उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’
रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उनले बताए ।
प्रचण्डले भने– ‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनितिक प्रतिशोधको व्यवहार देखाएको जोकसैले बुझ्नसक्छ ।’
आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारी पक्राउ गर्ने क्रम बढाउदै जाँदा बिचौलियाहरुले संसद्का पहिलो र दोस्रो पार्टी मिलाएर सरकार बनाएको पनि उनले स्पष्ट गरे ।
त्यस्तै विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ सिराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे ।
अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको रुण रोप्ने काम गरिएको स्पष्ट गरे ।
उनले भने– ‘विगतका सबै अनुभवबाट शिक्षा लिँदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको रुण रोप्ने काम गरिएको छ ।’
त्यस्तै आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकाल धेरै चुनौतीपूर्ण रहेको बताउँदै आफूले सामाजिक न्याय र आर्थिक संकटको अन्त्यका लागि गम्भीरतापूर्वक पहल लिएको बताए । साथै भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति लिएका कारण कसैलाई काखा र कसैलाई पाखा नगरेको समेत स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया