रवि लामिछाने प्रकरणमा गृहमन्त्रीले भने– ‘भिडले न्याय दिन्छ र ?’

लोकपथ
238
Shares
फाइल तस्बिर

सुर्खेत ।  गृहमन्त्री रमेश लेखकले भीड जम्मा गर्दैमा भिडले न्याय नदिने बताएका छन् ।  कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुगेका  गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

मन्त्री लेखकले सडकमा भीड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझावसमेत दिए । उनले भने, ‘न्याय दिने अदालतले होला नि !, भीडले न्याय दिन्छ र ?’  

सहकारीबाट लाखौँ सर्वसाधारण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताए । 

‘अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरूपण गर्ने ?’ गृहमन्त्री लेखकले प्रश्न गरे । रवि लामिछाने मात्रै नभएर सहरकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उनले बताए । 

पूर्व गृहमन्त्री रवि लामिछानेमाथि कुनै मानवअधिकारको कार्य प्रहरीबाट नभएको उल्लेख गर्दै मन्त्री लेखकले लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गरे । 

‘हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,’ मन्त्री लेखकले भने, ‘कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उनकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?’

पत्रकारको प्रश्नमा जवाफ दिँदै उनले अहिलेको सरकार आगामी निर्वाचनसम्म रहने भन्दै यसमा आशंका गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?