गुण्डागर्दी गरेपछि ‘गोर्खा डिफेन्स फोर्स’मा आबद्ध ५ युवा पक्राउ

सहकारीका म्यानेजरलाई धम्काएर रकम उठाएको आरोप

टिकटकमा पछिल्लो समय एउटा समूह भाइरल जस्तै छ । त्यो समूह हो, गोर्खा डिफेन्स फोर्स अर्थात् जिडिएफ क्लब । बलिया पाखुरा भएका देख्दै डरलाग्दा युवाहरू रहेको गोर्खा डिफेन्स फोर्सको ‘काम’ हो पीडितको पैसा उठाइदिने । वैदेशिक रोजगारी वा सहकारीमा फसेको रकम उठाइदिने भन्दै यो क्लबको स्थापना भएको उनीहरूकै प्रचारबाट देखिन्छ ।

रिदम पुन मगर, डीबी भन्ने फुर्वा तामाङ, विक्रम तामाङलगायतका बलिया युवाहरूको समूह गठन गरी यो समूहले क्लब नै दर्ता गरेको थियो र केही युटुबरहरुलाई साथमा राखेर आफूहरूले अब वैदेशिक रोजगारीका नाममा ठगिएका व्यक्तिहरू र सहकारीबाट ठगिएका व्यक्तिहरूका लागि काम गर्ने बताएको थियो । यो समूहले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा यस्तै पोस्टहरू राख्दै कोही व्यक्ति वैदेशिक रोजगारीका क्रममा ठगिएको भए वा सहकारीबाट ठगिएको भए सम्पर्क गर्न भन्दै प्रचार गर्ने गरेको थियो ।

उनीहरूको समूहले गरेको केही प्रचार यस्ता थिए

गोर्खा डिफेन्स फोर्सको काम बेथिति, भ्रष्टाचार आदिविरुद्ध आवाज उठाउनु पनि रहेको दाबी गरिएको छ र क्लबका बाउन्सरजस्ता व्यक्तिहरूको तस्बिर र भिडियो टिकटकमा पोस्ट गर्दै सदस्य बन्न आग्रह गरिएको छ भने ग्रुपमा समावेश हुन भनिएको छ ।

यो समूहले बालेन साह, हर्क साम्पाङ, दुर्गा प्रसाईँलगायतका व्यक्तिलाई सहयोग गरेको र बेलाबेलामा उनीहरूको कार्यक्रममा सहभागी हुँदै व्यक्तिगत सुरक्षा गार्ड जस्तो व्यवहार देखाएका छन् ।

यही समूहका ५ जना सदस्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । एक सहकारीको म्यानेजरलाई नियन्त्रणमा लिई निजको मोटरसाइकलसमेत कब्जा गरी जबरजस्ती ९० हजार रुपैयाँ लिएपछि यो समूहका ५ जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कपनको भृकुटी चोकमा रहेको परिक्रमा सहकारीको म्यानेजरलाई नियन्त्रणमा लिई जबरजस्ती ९० हजार रुपैयाँ नगद र निज चढ्ने मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी आएपछि प्रहरीले समूहका ५ जना सदस्यलाई पक्राउ गरी मङ्गलवार अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

महाशाखाका अनुसार पक्राउ पर्नेमा गोर्खा डिफेन्स फोर्सका अध्यक्ष दाबी गर्ने रिदम पुन मगर भन्ने रेखबहादुर पुन मगर, जङ्गलको राजा, डीबी आदि उपनामका फुर्वा तामाङ, इगल क्लब चाबहिलका बाउन्सर विक्रम तामाङ, कोरियन भाषाका शिक्षक उत्तरबहादुर वाइबा र सुमन लो रहेका छन् ।


यही समूहले वैदेशिक रोजगारीमा ठगिएका वा सहकारीबाट पीडित बनेकाहरूको रकम उठाइदिने भन्दै सम्पर्कमा आउन भनेपछि करिब ३ सय जनाले उनीहरूलाई सम्पर्क गरेको उनीहरूको दाबी छ । यसरी सम्पर्कमा आएकामध्ये के कति जनालाई धम्काएर रकम असुल गरेका छन्, त्यसको जानकारी लिने क्रममा रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार अहिले तत्काललाई उनीहरुविरुद्ध अभद्र व्यवहारमा म्याद लिई अनुसन्धान भइरहेको छ । उनीहरूबाट पीडित बनेकाहरूको जाहेरी र सूचना लिने काम भइरहेको आचार्यले लोकपथलाई बताए ।

सहकारीका म्यानेजरलाई नियन्त्रणमा लिएपछि पक्राउ
आफ्नो रकम सहकारीमा फसेकाले उठाइदिन भन्दै यो समूहलाई एक सहकारी पीडितले सम्पर्क गरेका थिए । ती पीडितसँग कुरा गरेपछि यो समूह कपनको भृकुटी चोकमा रहेको परिक्रमा सहकारीमा पुगेर तत्काल पीडितको सबै रकम दिन धम्की दिएका थिए । उक्त सहकारीले एक व्यक्तिको ४ लाख ९१ हजार रुपैयाँ दिनुपर्ने थियो । तर तरलता अभाव भन्दै सहकारीले रकम दिन आनाकानी गरिरहेको समयमा यो समूह पीडितसहित सहकारीमा पुगेर म्यानेजरलाई रकम दिन धम्की दिएको थियो । म्यानेजरले अहिले तत्काल सबै रकम दिन सम्भव नभएको बताएपछि समूहले सहकारीबाट जबरजस्ती ९० हजार रुपैयाँ लिएर पीडितलाई ५० हजार रुपैयाँ दिई ४० हजार रुपैयाँ आफूहरूले राखेका थिए । त्यसबाहेक सहकारीका म्यानेजरको यामाहाको एफजेड भी थ्री मोटरसाइकल पनि जबरजस्ती नियन्त्रणमा लिई रकम दिएपछि फिर्ता दिनु भन्दै पीडितलाई दिएका थिए ।
यही विषय प्रहरीको जानकारीमा आएपछि कानुनी मान्यता नपाएको संस्थाले धरपकड गरी जबरजस्ती रकम उठाएको र धम्की दिएको पाएपछि प्रहरीले समूहका ५ जना सदस्यलाई पक्राउ गरेको हो । यद्यपि यो विषयमा तत्कालै जाहेरी नै नपरेको र पीडितलाई जाहेरी दिन भनिएको प्रवक्ता आचार्यले लोकपथलाई बताए ।

समूहमा थिए बाउन्सरदेखि ट्रक ड्राइभर र जिम कोचसम्म
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले पक्राउ गरेका ५ जनाको पेसा हेर्दा उनीहरू क्लबका बाउन्सरदेखि ट्रक ड्राइभर र कोरियन भाषाका शिक्षकसम्म रहेको पाइएको छ ।

पक्राउ परेकामध्ये अध्यक्ष भनिने रिदम पुन मगर पेसाले फिटनेस कोच हुन् । दाङको घोराही नगरपालिका–१६ स्थायी ठेगाना भई हाल भैंसेपाटीमा बस्ने ३३ वर्षीय मगर जिम क्लबमा कोच छन् । उनले ठगिएका व्यक्तिहरूको पैसा उठाइदिएर त्यसबाट कमिसन लिने उद्देश्यले गोर्खा डिफेन्स फोर्स नामक क्लबको स्थापना गरेको स्वीकार गरेका छन् । प्रहरीसँगको प्रारम्भिक बयानमा रिदमले आफूहरूको समूहले सहकारीमा पीडितसँगै गई छलफल गराएको, त्यसबाट सहकारीबाट तत्काल ९० हजार रुपैयाँ लिएकामा पीडितकै राजीखुशीमा आफूहरूले ४० हजार लिई समूहका सदस्यहरूलाई बाँडफाँड गरेको बताएका छन् ।

त्यस्तै पक्राउ परेका डीबी भन्ने फुर्वा तामाङले पनि सहकारीमा गई धम्काएको र त्यसबापत फोर्सले ४० हजार रुपैयाँ लिएको बयान दिएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल ललितपुरको भैंसेपाटीमा बस्ने ३३ वर्षीय फुर्वा तामाङ पेसाले ट्रक ड्राइभर रहेको उनले प्रहरीमा दिएको बयानमा उल्लेख छ । गोर्खा डिफेन्स फोर्समा आफू २०८१ असोज महिनादेखि आबद्ध भएको तर क्लबका अध्यक्ष रिदम पुन मगरको व्यवहार नराम्रो भएका कारण मङ्सिर २२ गतेबाट अल्फा फोर्स नामक क्लब खोलेर हाल उक्त क्लबमा आबद्ध भएको बयान दिएका छन् । दुवै क्लबको उद्देश्य एउटै रहेको र यसरी क्लब गठन गरेर रकम उठाउन सकिएमा राम्रो कमिसन आउने भएकाले क्लब खोलेको उनको बयानमा उल्लेख छ । उनले पनि सहकारीबाट उठाएको ९० हजार रुपैयाँमध्ये ४० हजार रुपैयाँ क्लबले पाएको तर उक्त रकमबाट फिल्डमा जानेलाई जनही एक हजार रुपैयाँ दिएर बाँकी रकम क्लबका लागि भन्दै राखिएको बयान दिएका छन् ।

पक्राउ परेका अर्का व्यक्ति हुन् विक्रम तामाङ । भोजपुरको पौवादुम्बा गाउँपालिका–१, श्यामसिला स्थायी ठेगाना भएका तामाङ कपनको दुर्गा मन्दिर नजिकै बस्छन् । १० कक्षा पास गरेका उनी पेसाले बाउन्सर हुन् । उनी विगत ९ महिनादेखि चाबहिलमा रहेको इगल क्लबमा बाउन्सरको काम गर्दै आएका छन् ।

गोर्खा डिफेन्स फोर्समै रहेका विक्रम गत मङ्सिर २२ गतेदेखि अल्फा फोर्स क्लबमा आबद्ध भएको र उक्त क्लबको अध्यक्ष रिजन क्षेत्री रहेको तथा क्लबको उद्देश्य पैसा उठाउने रहेको विक्रमको बयानमा उल्लेख छ । कपनको सहकारीमा रकम उठाउन गएको र त्यहाँबाट उठाएको ९० हजार नगदमध्ये ४० हजार रुपैयाँ आफूहरूले राखेको विक्रमको बयानमा पनि उल्लेख छ ।


त्यसै गरी पक्राउ परेका अर्का आरोपित उत्तरबहादुर वाइबा उक्त क्लबको सचिव हुन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ स्थायी ठेगाना भएका वाइबा पेसाले कोरियन भाषाका शिक्षकसमेत हुन् । सोह्रखुट्टेमा रहेको नेक्स्ट स्टेप कन्सल्टेन्सीमा कोरियन भाषा पढाउने उनी रिदम पुन मगरसँग चिनजान भएपछि गोर्खा डिफेन्स फोर्समा आबद्ध भएको बताएका छन् । उनले पनि कपनको सहकारीमा गई धम्काएर ९० हजार रुपैयाँ पठाएको र त्यसबापत क्लबले ४० हजार रुपैयाँ पाएकामा सदस्यलाई बाँडिएको बताएका छन् ।


पक्राउ परेका अर्का आरोपित सुमन लो पनि पेसाले ड्राइभर हुन् । उनी पनि गोर्खा डिफेन्स फोर्समा २०८१ असोज महिनादेखि आबद्ध भएको र यसको काम भने फसेकाहरूको पैसा उठाउन सहयोग गरेर उनीहरूबाट रकम लिने रहेको बताएका छन् । कपनको सहकारीमा गएर म्यानेजरलाई धम्काई पीडितले पाउनुपर्ने करिब ५ लाख रकममध्ये सुरुमा ९० हजार रुपैयाँ पाएको र त्यसमध्ये क्लबले ४० हजार रुपैयाँ राखेकोमा फिल्डमा जाने सबै सदस्यलाई एक एक हजार रुपैयाँ बाँडिएको तथा अरू रकम क्लबका लागि भनेर राखिएको बयान दिएका छन् । पछि रिदम पुन मगरको व्यवहार नराम्रो भएपछि गत मङ्सिर २२ गते मात्रै अल्फा फोर्स नामक कम्पनी खोलेको र दुवै कम्पनीको उद्देश्य एउटै रहेको बताएका छन् । फसेको रकम उठाइदिएर कमिसन लिने उद्देश्यले क्लब खोलिएको सबैको बयानमा उल्लेख छ ।

धम्काएर रकम उठाउने, कमिसन लिने
यो समूहको उद्देश्य नै आफ्नो शक्ति देखाएर विभिन्न व्यक्तिहरूलाई धम्काउने र पीडितको नाममा बार्गेनिङ गरेर रकम लिने रहेको प्रहरीको दाबी छ । उनीहरूले धम्काएको र रकम असुल गरेको व्यक्तिहरूको खोजी भइरहेको भन्दै उनीहरुविरुद्ध जाहेरी लिएर कानुनी कारबाही गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

यस्ता समूहको उद्देश्य नै पहिले समूह गठन गर्ने र कानुनी मान्यता नभएको समूहकै शक्ति देखाएर धम्की दिई रकम उठाउने रहेको प्रहरीको दाबी छ । अनधिकृत रूपमा धाक धम्की दिई रकम उठाउनेदेखि लिएर पछि यही समूह अन्य आपराधिक कार्यमा समेत संलग्न हुने गरेको पाइएको भन्दै यस्ता अवैध समूहलाई निस्तेज गर्न प्रहरीले कारबाही सुरु गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी काजीकुमार आचार्यले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?