काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरातर्फ पठाइएको छ ।
पर्साको सानो पाइला सहकारीको रकम हिनामिनाको अनुसन्धानका लागि उनलाई वीरगञ्ज ल्याइएको थियो ।
पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकेपछि लामिछानेलाई विमानबाट पोखरा लैजान लागिएको हो । पर्सा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।
यो समाचार तयार पार्दासम्म उनी सिमरा विमानस्थलमा रहेका छन् । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालका अनुसार लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने भएको छ ।
उता, कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । पुस ५ गतेअगावै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ । रवि र छविलाल जोशीविरुद्ध पूरक अभियोग पत्र पेस हुने छ ।
छबिलाई असोज ६ र रविलाई कात्तिक २ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा सुरुमा पक्राउ परेका उनीहरूमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा रवि र छबिलाई रुपन्देही, काठमाडौं, चितवन र पर्सामा बयानका लागि लगेको थियो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीहरूमाथि छ ।
बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी र पर्साको सानो पाइला सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो ।
लामिछानेको हकमा यसअघि उनलाई पहिलो पटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथो पटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँ पटक ४ दिन म्याद थप गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया