सुदूरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छ: चेम्बर निवर्तमान अध्यक्ष मल्ल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदूरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निवर्तमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताएका हुन् । 

मल्लले राजनीतिक दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सधैँ केन्द्रमा रहेको र प्रदेशमा भएको प्राकृतिक श्रोत, कृषि, संस्कृति रहनसहनलाई प्रवर्द्धन गर्न व्यवसायीको पनि महत्त्वपूर्ण योगदान रहेको बताए । उनले प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको चर्चा गरे ।

सुदूरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमका जिल्लाहरूबाट सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउने गरी औद्योगिक वातावरण बनाउनुपर्ने उनको धारणा छ ।

चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदूरपश्चिमको स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरूमा उत्पादन हुने बस्तुहरुहरुको व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य मुख्य सहरहरूमा बजारीकरण गर्नुपर्नेमा उपाध्यक्ष पाण्डेले जोड दिए । प्रदेशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्नका लागि चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?