‘हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौँ । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन,’ २०८० चैत ६ गतेको प्रतिनिधि सभा बैठकपछि एमाले अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ।
‘भ्रष्टाचारीहरुलाई संरक्षण गरेर सारा सहकारी ठगहरू आफ्ना पार्टीभित्र पालेर भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटा मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर केपी शर्मा ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । देशको प्रधानमन्त्री भएकोमा यो दुर्भाग्य छ,’ २०८१ साल कात्तिक ४ गते रवि लामिछानेले भनेका थिए ।
२०८० चैतदेखि २०८१ कात्तिकसम्मको ७ महिनाको अवधिमा नेपालको राजनीतिले ७० वटा फेरो मारिसक्यो । सत्तारुढ फेरिए, प्रतिपक्ष फेरिए, राजनीतिक कोर्स नै फेरियो । परस्परविरोधी कांग्रेस–एमाले एक ठाउँमा पुगे, एकचुच्चो भएका एमाले–रास्वपा परस्परविरोधी बन्न पुगे । त्यसैको परिणाम हो ओली–रविको चाटाचाट र काटाकाटपूर्ण माथिको वाणी ।
माओवादी नेतृत्वको सरकारमा मुख्य सत्तासहयात्री बनेको एमालेका लागि सुरुमा सहकारी ठगीका लागि संसदीय छानबिन समिति नै बन्नु हुन्न भन्ने थियो । बने पनि रवि लामिछाने केन्द्रित त हुँदै हुन्न भन्ने थियो । त्यसबेला रविको आड भरोसा उनको दल रास्वपा मात्रै थिएन, नेकपा एमाले र तिनका अध्यक्ष ओली थिए ।
पदार्थको परीक्षणपछि कि त्यसले आकार लिन्छ या त त्यो बेकामे भएर खेर जान्छ भनेझैँ, ओलीले सुरुमै गृहमन्त्रीको चाँजोपाँजो मिलाएर रविमाथि परीक्षण गरे । रास्वपामाथिको परीक्षणलाई उपहार सम्झिएको रास्वपा र तिनका समर्थक ओलीप्रतिको भरोसामा विश्वस्त थिए । छानबिन समितिको झन्झटमा पर्न नचाहेको रास्वपालाई ओलीको बोली मिठास थियो, जसकारण रास्वपा नेता र समर्थकको ‘वालवाल’मा ओली छाएका थिए । जसरी अहिले रविप्रति सदाशयता देखाइरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी नेताहरूका बोली रास्वपा समर्थकहरूको फेसबुक ‘वाल’ मा छाइरहेको छ ।
अहिले माओवादीको सदाशयताप्रति शंका गर्दै उनले हिजो ओली र एमाले जस्तै अहिले माओवादीले रवि र उदाउँदो दल रास्वपालाई कुनै बेला राजनीतिक मोलाहिजाका लागि उपयोग गर्न सक्ने बताए ।……
वैकल्पिक राजनीतिको नाममा उदाएका रवि र रास्वपामाथि ‘पिँध नभएको भाँडो’ को आरोप थियो । राजनीतिमा बामे सर्दै गर्दा आड भरोसाको रूपमा एमाले पाएको रास्वपाका लागि अहिले एमाले नै मुख्य दुस्मन जस्तो देखिएको छ । राष्ट्रिय राजनीतिमा रास्वपाको उदयलाई सुरुवातबाटै शंकाभावले हेरेको कांग्रेस अहिले पनि सकारात्मक छैन । तर २०७९ पुस १० को एकाएक बनेको नयाँ समीकरणमा गृहमन्त्रीका रूपमा रविलाई भित्राएको माओवादीका लागि रास्वपा सुरुवातदेखि नै सत्ता टिकाउन र भत्काउन देखाउने शक्तिको गोटी बन्यो । अहिले सहकारी ठगी प्रकरणमा झन्डै दुई महिनादेखि प्रहरीको हिरासतमा रहँदा रविप्रति माओवादीको सदाशयता र सहानुभूति झन् बढेको छ ।
विभिन्न जिल्लामा लागि पु¥याइँदा रविको दल रास्वपाले जति प्रतिशोध देखेको छ, त्यति नै प्रतिशोध माओवादीले पनि देखिरहेको छ । प्रधानमन्त्री भएकै बेला आफ्ना गृहमन्त्री रविबारे प्रचण्डले सहकारी ठगीबारे उनीमाथि कुनै उजुरी नपरेको भन्दै ढाकछोप गरेका थिए । त्यसबेला रविको दल सरकारबाट बाहिरिएसँगै सत्तामा पर्ने जोखिमलाई न्यूनीकरण गर्न भए पनि रविबारे प्रचण्डको सहयोगी भावना आउनु स्वभाविक थियो । तर कानुनी प्रक्रियामा गइसकेको विषयमा प्रचण्डको रविप्रति बढेको सहानुभूति भाव कुनै बेला राजनीतिक लाभका लागि उपयोगसिद्ध बनाउने योजना त होइन भन्ने शंका व्यक्त हुन थालेको छ ।
मंगलबार पार्टीको खबरदारी सभाका लागि चितवन पुगेका प्रचण्डले भनेका थिए, ‘तपाईं हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरू नै ठुला सहकारी ठग छन् । तिनै नाटकबाजहरुलाई बचाउन सरकार केन्द्रित छ । उनीहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’
प्रचण्डले त्यतिमात्र भनेनन् उनले रवि र उनको दलले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेका कारण राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए । यसको मतलब प्रचण्डले भनेको मानेकै कारण हो त उनीमाथि सहकारी ठगीको आरोप रहँदारहँदै पनि कुनै छानबिन गर्नुपर्ने कारण प्रचण्डले नदेखेको ? प्रश्न उठेको छ ।
‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनीतिक प्रतिशोधको व्यवहार देखाएको जो कसैले बुझ्न सक्छ,’ प्रचण्डले भनेका थिए ।
ऊ बेला एकाएक गृहमन्त्री पाएपछि हौसिएको रास्वपालाई पहिले जसरी सबै दलले मोहरा बनाउँदै रोजेको पद दिए । आफ्नो राजनीतिक रोटी सेक्न रवि र रास्वपाको साथ खोजिएको जसरी अहिले दुःख परेका बेला लगाएको गुन कालान्तरमा शक्तिको जोड घटाउका लागि त होइन ? शंका उत्पन्न भएको छ ।
लामो समयदेखि वैकल्पिक राजनीतिको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेको भनाइले पनि त्यसलाई थप पुष्टि गर्छ ।
अहिले माओवादीको सदाशयताप्रति शंका गर्दै उनले हिजो ओली र एमाले जस्तै अहिले माओवादीले रवि र उदाउँदो दल रास्वपालाई कुनै बेला राजनीतिक मोलाहिजाका लागि उपयोग गर्न सक्ने बताए । उनले सामाजिक सञ्जालमा लेख्दै त्यसबारे बेलैमा सचेत हुन रास्वपालाई आग्रह गर्दै प्रचण्ड, ओली र देउवाको काँधमा चढेर आफ्नो एजेन्डा स्थापित गर्न नसकिने भन्दै आफ्नै खुट्टाको शक्ति बढाउन आग्रह गरे ।
‘प्रिय रास्वपाका साथीहरू । हिजो रविको नाममा एमालेले राजनीति गर्यो। रविलाई बोकेजस्तो गरेर आफ्नो क्याम्पमा राख्यो । रास्वपा सदस्यहरूको सेन्टिमेन्ट लुट्यो । आज प्रचण्ड त्यही गर्दै छन् । यो उहाँहरूको राजनीति हो । कृपया हिजो ओलीको भिडियोजस्तै आज प्रचण्डको भिडियो सेयर गरेर खुसी नहुनुहोला । यो लडाइँ देउवा, ओली वा प्रचण्डको काँधमा टेकेर वा हात समाएर जितिने वाला छैन । आफ्नै खुट्टामा उभिएर, वैकल्पिक राजनीतिका मूल्य मान्यतामा बसेर मात्र जितिन्छ । कसैलाई काँधमा बोकेर या कसैको काँधमा चढेर हुन्न भन्ने अब बुझिसकियो होला । अब नागरिकका मुद्दा बोक्ने बाहेक अरू कुनै उपाय छैन । छैन त, छदै छैन,’ उनले सचेत गराएका छन् ।
निहित स्वार्थका लागि सत्तामा नयाँ समीकरण बन्ने र भत्किने खेलमा को कहिले कहाँ मिल्छन् र छुटिन्छन् थाहा छैन । जुन यसअघिका दर्जनौँ उदाहरणहरू यहाँ पेस गरिरहनु नपर्ला । स्पष्ट बहुमतसहित संसद्कै दुई ठुला दल मिलेपछि हुनसक्ने जोखिमका बीच चौथो ठुलो शक्ति रास्वपाका सभापति नै पक्राउ परेपछि कमजोर रहेको प्रतिपक्ष थप कमजोर होला कि भन्ने पिर प्रचण्डलगायत विपक्षीमा स्वभाविक हुने नै भयो । साथसाथै सम्भावनाहरूको खेल राजनीतिमा यदि सरकारमा सानो हलचल आएमा नयाँ समीकरण बनाउन विपक्षी शक्तिहरूलाई एक बनाउन सके ‘बार्गेनिङ पावर’ थप बढ्ने आशाले पनि प्रचण्डलाई रविमाथि सहानुभूति देखाउनु अहिलेको मुख्य ध्येयको रूपमा हेरिएको छ ।
रविमाथि विपक्षीसहित सत्तारुढ दलकै नेताको सहानुभूति
रविमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै कांग्रेसकै संस्थापन इतरका नेताहरूले सरकारप्रति प्रश्न उठाउन थालेका छन् । गत मंसिर १९ को रातिको घटनापछि कांग्रेसको संस्थापन इतरका नेताहरू लामिछानेप्रति सहानुभूति भावमा देखिएका छन् ।
सहकारी ठगी प्रकरणको छानबिनका लागि चितवन पुर्याइएका रविलाई मंसिर २० गते बिहान पोखरा पुर्याइने भनिएको थियो । तर रातारात लामिछानेलाई स्थल मार्गबाट पोखरा पुर्याइएपछि उनीमाथि मानवअधिकार हननको नजरले सत्तारुढ दलकै सांसदहरूले हेरिरहेका छन् । सुरुवातबाटै कांग्रेसले रविमाथि छानबिन गर्नका लागि अडान लिएको थियो । महिनौँ लामिछानेमाथि छानबिन समिति नबनाए संसद् बैठक चल्न नदिने भन्दै जो जो उनीमाथि छानबिनका लागि संसदीय समिति माग गरिरहेका थिए, अहिले तीनै नेताहरू उनीमाथिको छानबिनका सन्दर्भमा अन्याय गरेको भन्दै आलोचना गरिरहेका छन् ।
कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रमा प्रतिबद्ध रहेको बताउँदै रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा लैजानु गलत रहेको टिप्पणी गरेका छन् ।
उनले मंसिर २२ गते चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए, ‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन । यो त हाम्रो लोकतान्त्रिक देश हो । त्यो विल्कुल गलत हो ।’
उनी मात्र होइन कांग्रेसका अर्का नेता एवं सांसद अर्जुननरसिंह केसीले रविमाथि राज्यले प्रतिशोध साँधेको आरोप लगाए ।
केही दिनअघि सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्रीसमेत रहेका नेता केसीले जुनसुकै अभियुक्तलाई अनुसन्धानका लागि राज्यले मानवीयता देखाउन आग्रह गरे ।
यो केस न्यायिक निरूपणको विषय भएको हुँदा न्यायालयले यससम्बन्धी के गर्ने भन्ने बोल्ने भएको हुँदा सकेसम्म पहिलो हप्तामा अदालतमा बुझाइदिनुपर्ने हो । तर नियतवश, इन्टेन्सनल्ली मानसिक रूपमा ह्यारेसमेन्ट गराउनका निम्ति कहिले यता र कहिले उता कुदाउने काम भयो ।
‘…यस अभियोगमा थुनामा राखी अनुसन्धान र बयान भइरहेका सयौँमध्येका एक सांसद रवि लामिछानेलाई बयानका क्रममा रातारात स्थानान्तरण गर्दा प्रतिशोधको भावना राखी अमानवीय व्यवहार अपनाइयो र निजी डायरी हिरासतबाटै हरायो भन्ने चर्को प्रतिक्रिया रविजी सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सार्वजनिक भयो । रवि लामिछाने उपरको छानबिन वा अनुसन्धान संसदीय समितिको सुझाव र पीडितहरूको आवाजको आधारमा भइरहेको हो भन्दैमा जुनसुकै अभियुक्तप्रति व्यवहार अपनाउँदा राज्यले विधिवत् प्रक्रिया, सभ्यता र सुसंस्कार बिर्सन हुँदैन । त्यस कारण यसमा के भएको हो, निष्पक्ष, पारदर्शी र विधिसँगत प्रक्रियामा राज्य पूर्ण जिम्मेवार रहनु पर्छ र यसमा सरकारले उत्तरदायित्व पूरा गरी वास्तविकताद्वारा जनतालाई विश्वास दिलाउनु जरुरी छ ।’
कांग्रेस मात्र होइन विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले त कास्की प्रहरीको हिरासतमै पुगेर लामिछानेसँग भेट गरे । उनले सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको भन्दै आफूहरूले सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेलाई चितवनमा उहाँलाई अमानवीय व्यवहार गरिएको छ । मानवअधिकारको जो–जो ले ठाडो गम्भीर उल्लंघन गरेका छन् ती अधिकारीमाथि कारबाही गरिनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘उहाँको प्रेसर माथि हुँदाहुँदै पनि उहाँलाई औषधिसम्म दिन लगाइएन । यदि प्रेसरले मान्छे मरेको भए त्यसको जिम्मेवारी को हुन्थ्यो ? यदि मानवअधिकारको ठाडो उल्लंघन गरेका छन् भने उनीहरूलाई कानुनी कारबाहीमा ल्याउनुस् होइन भने हामी सडक र सदनबाट त्यसको जवाफ माग्छौँ ।’
माओवादीको मूलधार छाडेर वैकल्पिक राजनीतिको वकालत गरिरहेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले हिरासतमै पुगेर लामिछानेलाई भेटे । उनले लामिछाने मात्रै सहकारी ठगी प्रकरणमा मुछिएको जसरी सरकारले रवैया देखाइरहेको कटाक्ष गर्दै ५०औँ हजार सहकारीपीडितको मुद्दा ओझेलमा पार्न रविलाई सुली चढाइएको आरोप लगाए ।
‘अहिले उहाँलाई एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । यो अलि अस्वाभाविक लागेर अन्यायपूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो,’ उनले भनेका थिए, ‘यो प्रतिशोधपूर्ण भयो भन्ने मेरो बुझाइ छ ।’
रविमाथि वैकल्पिक राजनीतिको वकालत गर्नेहरू, सरकारसँग रुष्ट भएका कांग्रेसका संस्थापन इतरका नेताहरूले सहानुभूति देखाइरहेका छन् ।
यता कांग्रेसका अर्का सांसद सुनिल शर्माले सरकारले छिट्टै निरूपण हुने लामिछानेको केसमा उनलाई मानसिक रूपमा ह्यारेस्मेन्ट गरेको आरोप लगाए । सरकारले आफ्नो अकर्मण्यता छोप्नका लागि लामिछानेको केसलाई थप गिजोलिरहेको उनको आरोप छ ।
‘यो केस न्यायिक निरूपणको विषय भएको हुँदा न्यायालयले यससम्बन्धी के गर्ने भन्ने बोल्ने भएको हुँदा सकेसम्म पहिलो हप्तामा अदालतमा बुझाइदिनुपर्ने हो । तर नियतवश, इन्टेन्सनल्ली मानसिक रूपमा ह्यारेसमेन्ट गराउनका निम्ति कहिले यता र कहिले उता कुदाउने काम भयो । हेर्दा र देख्दा लोकलाई पनि लाज लाग्ने गरी काम भएको छ,’ उनले भनेका छन् ।
रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धानलाई अन्तिम अवस्थामा पुर्याएको छ । आगामी दिनमा रवि, रास्वपा र समग्र राजनीति कुन बाटोमा हिँड्छ हेरौँ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया