एनपीएल : सुपर ओभरमा पोखरासँग विराटनगर पराजित

लोकपथ
91
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले जितका लागि दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । एनपीएलमा यो पहिलो सुपर ओभर खेल हो ।

सुपर ओभरमा पोखराले पहिले ब्याटिङ गरेको थियो । विराटनगरका कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौथोँ बलमा राइफरले चौका प्रहार गरे । पाँचौँ र अन्तिम बलमा सन्दीपले एक–एक रन खर्चिए । समग्रमा विराटनगरले १९ रनको लक्ष्य पाएको थियो ।

विराटनगरका मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिए । पोखराले बलिङमा पुन रेमन राइफरलाई ल्याएको थियो । पहिलो बलमा मार्टिन गप्टिलले एक रन बनाए । दोस्रो र तेस्रो बलमा किर्तनले एक–एक रन लिए । चौथो बलमा किर्तनले डट बल खेले भने पाँचौँ बलमा एक रन लिए । पाँचाँै बल रेमनले वाइड दिए र अन्तिम बल डट राख्दै पोखराले विराटनगरमाथि सुपर ओभरमा १३ रनको जित निकालेको हो ।

त्यसअघि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । त्यस्तै रेमन राइफरले ३४ रन जोडे । कप्तान कुशल भुर्तेलले ३१ रन जोड्दा दिनेश खरेल र मिचेल लिस्कले समान ११–११ रन बनाए ।

विराटनगरका लागि प्रतिस जिशीले चार विकेट लिए भने क्रिस सोलले दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो । विराटनगरका लागि स्कट एड्वार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यसैगरी लोकेस बमले २६ रन बनाउदाँ बासिर अहमदले २१ रन जोडे । निकोलस किर्तनले १९ रन, क्रिस सोलले सात र मार्टिन गप्टिलले पाँच रन बनाए ।

पोखराका लागि सागर ढकाल र रेमन रिफरले समान दुई–दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक/एक विकेट झारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?