अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

लोकपथ
84
Shares

लस एन्जेल्स । क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी महान्यायाधिवक्ता मार्टिन एस्ट्राडाले भने, ‘ती प्रतिवादीले अमेरिकी कानुनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउनुका साथै शिविरको आधारको फोटो खिचेका थिए ।’ उनले भने, ‘हाम्रो राष्ट्रको सुरक्षा सर्वोपरि महत्वको छ र मेरो कार्यालयले हाम्रो देशको सैन्य कर्मचारी र सुविधाहरूको सुरक्षामा वृद्धि गर्नेछ ।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार नियमित पत्रकार भेटमा यस सम्बन्धमा ‘सोधिएको प्रश्नमा आफूलाई जानकारी नभएको’ बताए ।

चार्जिंग डकुमेन्टका अनुसार भ्यान्डेनबर्गमा रहेको डिटेक्सन सिस्टमले नोभेम्बरको अन्त्यमा १.६ किलोमिटर माथि उडेको ड्रोनलाई ‘ट्र्याक’ गरेको थियो । एलोन मस्कको स्पेसएक्स फाल्कन ९ रकेटका साथै क्षेप्यास्त्र परीक्षणसहित अन्तरिक्ष मिसनको प्रक्षेपण स्थलमा रहेका सुरक्षाकर्मीले झोउलाई उनको ज्याकेटमा लुकेको उपकरण (ड्रोन) सहित नजिकैको सार्वजनिक पार्कमा फेला पारेका थिए । अमेरिकी अधिकारीहरूले ड्रोनको जाँच गर्दा त्यसमा हवाई अड्डाका तस्बिरहरू थिए । न्याय मन्त्रालयका अनुसार झोउ चिनियाँ नागरिक हुन् र संयुक्त राज्य अमेरिकाको वैध स्थायी बासिन्दा पनि हुन् ।

सान फ्रान्सिस्कोको एक अदालतमा मंगलबार उपस्थित हुँदा झोउले यातायात सेवा प्रदान नगर्ने विमान दर्ता गर्न असफल भएको र राष्ट्रिय प्रतिरक्षा हवाई क्षेत्रको उल्लंघन भएको स्वीकार गरेका थिए । उनलाई आगामी केही हप्तामा लस एन्जेल्सस्थित अमेरिकी जिल्ला अदालतमा उपस्थित गराइने बताइएको छ । झोउलाई जमानतमा रिहा गर्ने अदालतको निर्णयविरुद्ध अभियोजकहरूले अपिल नगरेसम्म उनी हिरासतमा रहने छन् । वासिङ्टन र बेइजिङबीच नाटकीय रूपमा तनाव बढाउने राष्ट्रिय सुरक्षा घटनाको दुई वर्ष नबित्दै यो घटना भएको हो ।

सन् २०२३ को सुरुमा संयुक्त राज्य अमेरिकाले संवेदनशील अमेरिकी सैन्य प्रतिष्ठानहरूभन्दा माथि उडेको जासुसी बेलुन पत्ता लगाएको थियो र यसलाई गोली हानी खसालेको थियो । यस घटनाले चीनले महत्वपूर्ण गुप्तचरहरूलाई अमेरिकाविरूद्ध प्रयोग गरिरहेको छ भन्ने चिन्ता उत्पन्न गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् भने बेइजिङले यो एक निजी हवाई उपकरण (जहाज) भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?