काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई १०१ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाज जनकपुर बोल्ट्सको धारिलो बलिङ सामु टिक्न सकेन ।
फलस्वरुप १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट हुन पुग्यो । काठमान्डु गुर्खाजका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसीले १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा जनकपुरका लागि ललित र शेरमल्लले ३–३ विकेट लिए । मोहम्मद मोहसिनले २ विकेट र किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । यस खेलमा जनकपुरका कप्तान अनिल साहले कीर्तिमानी ५ क्याच लिए ।
उनले नपालको प्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए । प्रतियोगितामा आज जनकपुर पाँचौँ जितको लक्ष्यमा छ । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ विकेटको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार बेहोरेको थियो ।
यता, काठमाडौं भने आज तेस्रो जितको खोजीमा छ । काठमाडौंले यस अघिका चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णालीविरुद्ध तीन विकेटले पराजित भएको काठमाडौंले चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पुनः ७३ रनको हार बेहोरेको थियो । चौथो खेलमा भने काठमाडौंले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया