स्काउटसँग जोडेर ऊर्जामन्त्रीमाथि लगाइएको आरोप गलत

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल स्काउटले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ । 

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित  र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले संयुक्त विज्ञप्ति जारी गरी ऊर्जामन्त्री खड्कालाई स्काउटसँग जोडेर भ्रामक एवं तथ्यहीन समाचार प्रकाशन भइरहेको भनी आपत्ति प्रकट गरेका हुन् । 

उनीहरुले पवित्र संस्था स्काउटलाईसमेत मुछेर नियोजित रुपमा झुठा समाचार सम्प्रेषण भएकोमा दुःख व्यक्त गर्दै सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गर्न सम्बन्धित सञ्चार माध्यमसँग अनुरोध गरेका छन् । ‘ऊर्जामन्त्री खड्का विगत दुई वर्षदेखि खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग सम्बन्धित नरहेको जनाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगतको जानकारी प्राप्त हुन आएको छ, तथ्य नबुझिकन समाचार प्रकाशन हुँदा व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विगतमा संस्थागत रुपमा नेपाल स्काउट तथा खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच व्यावसायिक विषयमा केही असमझदारी भए पनि पछिल्लो समयमा उक्त असमझदारीलाई पूर्णरुपमा निराकरण गर्ने उद्देश्यले दुवै पक्षका जिम्मेवार प्रतिनिधिबीच निरन्तर भेटघाट, छलफल तथा संवादहरु चलिरहेको र समाधान निकट पुगिसकेको जनाइएको छ ।

स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौता भएबमोजिम ‘वहाल’वापतको बक्यौता हिसाबकिताब भई निरन्तर रुपमा बक्यौता रकम दाखिला भइरहेको र बक्यौता वापतको बाँकी साँवा रकम आगामी दश दिनभित्र दाखिला गरिसक्ने सम्झौता भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?