संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री लेखक

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् । 

उनले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताए । गृहमन्त्री लेखकले नेपालमा ६८ वर्षको अवधिमा सात वटा संविधान बनेको स्मरण गराउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको उदाहरण भएको पनि बताए । उनले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरू गर्ने र वर्तमान व्यवस्थालाई असफल साबित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताए । 

उनले भौतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहे पनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताए । संविधान विरोधी गतिविधिहरू कुनै पनि हिसाबले क्षम्य नहुने लेखकको भनाइ छ । 

उनले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताए। गृहमन्त्री लेखकले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ति व्यवस्था खल्बल्याउने आपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताए ।

जनतालाई कानुनी राज्यको प्रत्याभूति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?