प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बन्यो जनकपुर, ६ खेलमा ५ जीत

लोकपथ
196
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई ५ विकेटले हराएको छ । योसँगै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । जनपुरले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अंक बटुलेको छ । योसँगै टोलीले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमान्डु गुर्खाजले प्रस्तुत गरेको १०२ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरका लागि जिमी निसमले सर्वाधिक २७ रनको योगदान दिए । उनले १७ बलमा एक चौका र ३ छक्का प्रहार गरे । हर्ष थाकेर २५ बलमा २५ रन बनाउँदै नटआउट रहे । उनले १ चौका र एक छक्का हिर्काए । मोहम्मद मोहसिन १३ रन बनाउँदै नटआउट रहे । उनले ३ चौका प्रहार गरे । ओपनर लाहिरु मिलान्थाले २० बलमा १६ रन जोडे । उनले दुई चौका प्रहार गरे । कप्तान अनिल साहले १० बलमा ११ रन जोडे । उनले एक चौका हिर्काए ।

जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ विकेटको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार बेहोरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाज जनकपुर बोल्ट्सको धारिलो बलिङ सामु टिक्न सकेन । फलस्वरुप १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट हुन पुग्यो ।

काठमान्डु गुर्खाजका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसीले १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा जनकपुरका लागि ललित र शेरमल्लले ३–३ विकेट लिए । मोहम्मद मोहसिनले २ विकेट र किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । यस खेलमा जनकपुरका कप्तान अनिल साहले कीर्तिमानी ५ क्याच लिए । उनले नपालको प्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?