काठमाडौं । भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गर्ने भएको हो ।
विश्वका धेरै देशका विमानस्थलहरुमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू-उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस) प्रविधिको विकल्पमा आरएनपी-एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले आगामी माघ १० बाट आरएनपी-एआर प्रणाली प्रभावकारी हुने भन्दै सूचना प्रकाशित गरेर जानकारी दिए । महानिर्देशक अधिकारीले आरएनपी-एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूनतम ८ सय मिटरको भिजिबिलिटीमा पनि जहाजहरु सहजरुपमा उडान अवतरण हुनसक्ने बताए ।
उनले भू-उपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटीमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ८ सय मिटरको भिजिबिलिटीमा काम गर्ने महानिर्देशक अधिकारीले बताए ।
यस्तै रात्रिको समयमा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब राति १ घण्टा ढिलो र बिहान १ घण्टा अगाडी खुल्ने भएको छ । धावनमार्गसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन भन्दै गएको कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएको छ । आगामी माघ १९ गतेबाट लागू हुने गरी राति ११ बजेदेखि बिहान ७ बजेसम्म ८ घण्टामात्रै विमानस्थल बन्द गरिने पनि महानिर्देशक अधिकारीले जानकारी दिए । बन्द गरिने समय घटे पनि काठमाडौंबाट भैरहवा सारिएको अन्तर्राष्ट्रिय उडान यथावत् राखिएको स्पष्ट पारे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया