काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रूपमा विधान संशोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौ संसोधनले संस्थागत विकास तर्फ महत्त्वपूर्ण निर्णय गरेको छ ।
महासंघको अध्यक्ष प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुई वर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । नयाँ संशोधन अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ ।
महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । यसै गरी एक जना वरिष्ठ उपाध्यक्ष रहनेछन् । वरिष्ठ उपाध्यक्षको चयन पनि कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगर तर्पm एक थप गरी दुई जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
यसै गरी महिला उपाध्यक्ष रहने पनि व्यवस्था गरिएको छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्नेछ । तर यसका लागि कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद् पनि महासंघमा गठन हुने व्यवस्था गरिएको छ ।
महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएट तर्फ महिला सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरिएको छ । महासंघ अन्तर्गतको नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रिय कार्यकारिणी समितिमा पदेन सदस्यका रूपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया