औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उनले आगामी संसद् अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताए ।

उनले भने, ‘यो विधेयकमा औषधिका विभिन्न पाटोहरू छन् । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगले औषधी उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशत हाराहारीमा उत्पादन हुन्छ । कतिपय औषधि, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन् । औषधिमा आत्मनिर्भर हुने कुरा जटिल छ ।’

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यसैअनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधि खरिद गर्ने, राज्यले निःशुल्क गरेका औषधि स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषयमा छलफल गरिरहेको मन्त्री पौडेलले बताए ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमै उत्पादन हुने औषधिको आयातमा विचार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘औषधिको खरिद प्रक्रियाले औषधिको उपलब्धतामा समस्या देखापरेको छ । खरिद ऐनलाई पुनःविचार गर्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?