काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विश्वविद्यालय सभा यानेकी सिनेट बैठकमा उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यशैलीमाथि प्रश्नैप्रश्न उठेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा बिहीबार बसेको सिनेट बैठकमा उपकुलपति बरालमाथि ‘मेरिटोक्रेसी’, काम गर्ने शैलीका विषयमा प्रश्न उठेको हो ।
३ घण्टा चलेको सिनेट बैठकमा उपकुलपति बरालले विश्वविद्याललाई समय नदिएको, आफ्ना मान्छेहरु भर्ति गरेको, डीन नियुक्त गर्न नसकेको मात्र होइन सिनेट बैठक प्रक्रिया नै नपुर्याइ बोलाएको समेत प्रश्न उठ्यो । त्यस विषयमा प्रधानमन्त्री समेत रहेका त्रिविका कुलपति केपी शर्मा ओली र उपकुलपति बरालबीचको भनाइमा समेत मतान्तर देखियो ।
अधिकांश सिनेट सदस्यहरुले उपकुलपतिले १५ दिनअघि नै एजेण्डा दिनुपर्नेमा आज बैठक सुरु हुनुभन्दा केही अघि मात्रै बैठकका एजेण्डाहरु दिएको बताएका थिए । तर कुलपति एवं प्रधानमन्त्री ओलीले भने पहिलेकै सिनेटमा प्रस्तुत भइसकेको एजेण्डा भएकाले आजको बैठकमा एजेण्डा दिनुनपरेको भन्दै उपकुलपतिको बचाउ गरे । तर उपकुलपति बराल स्वंयमले नै आफूले कुनै पनि सिनेटर (सिनेट सदस्य) लाई एजेण्डा समयमा दिन नसकेको भन्दै माफी समेत मागेका थिए ।
बरालले सुरुमै माफी माग्दै भनेका थिए, ‘सभासदज्यूहरुसँग मैले माफी माग्नैपर्छ । हामीले उहाँहरुलाई समयमै खबर गरे पनि डिटेल्स एजेण्डाहरु पठाउन सकेनौँ । म यहाँहरु समक्ष माफी चाहान्छु । अबको सभामा समयमै डिटेल एजेण्डा पठाउनेछौँ ।’
तर प्रधानमन्त्री एवं कुलपति ओलीले भने अघिल्लो सभाले नीति तथा कार्यक्रम पारित गर्दा आफूले एजेण्डालाई हेर्न नपाएकाले अहिले बैठक बोलाउनुपर्ने बताए ।
‘अघिल्लो सभा बैठकमा नीति तथा कार्यक्रम पारित हुन नसकेको सबैलाई सर्वविदितै छ । त्यो हामीले हेरेकै थिएनौँ । नहेरीकन पारित गर्नु भनेको त्यो विधिसम्मत हुँदैन । त्यसकारण हामीले पोस्टपोन्ड गर्यौँ,’ उनले भने ।
उपकुलपति बरालले भने सिनेटका कुनै सदस्यहरुसँग एजेण्डाबारे छलफल नै नगरी आफैँ मनोमानी ढंगले सिनेट बैठक चलाउने खोजेको आरोप सिनेटरहरुले लगाए । उपकुलपति बरालले १५ दिन पहिल्यै पठाउनुपर्ने एजेण्डा आजै बिहान १० बजे मात्रै ‘ह्वाट्सएप’ मा पठाएका थिए । जसका कारण आफूहरुले पढ्दै नपढी एजेण्डाहरु पास गर्न नसक्ने भन्दै बैठक बहिस्कारको चेतावनी समेत दिए ।
आजको बैठकमा उपकुलपति बरालले विभिन्न १२ एजेण्डा प्रस्तुत गरेका थिए । जसमध्ये ११ एजेण्डा पारित आजको सिनेट बैठकले पारित गर्यो । तर बुँदा नं ८ मा प्रस्तुत गरिएको एजेण्डामा भने प्रश्न उठेपछि आगामी पुस ७ गतेको बैठकमा छलफल गर्ने गरी स्थगित भएको हो ।
यी हुन् उपकुलपति बरालले पेस गरेको १२ एजेण्डाहरु :
१. विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्नका लागि न्यूनतम योग्यताको पुनर्विचार गर्ने र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा (Tribhuwan University Eligibility Test) को व्यवस्था गरिनेछ र यो परीक्षा उत्तीर्ण हुनेहरु मात्र आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरु र विभागमा प्राध्यापन सेवामा प्रवेश गर्न पाउने व्यवस्था गरिनेछ । तर विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय योग्यता परीक्षण (National Eligibility) को व्यवस्था गरेपछि उपर्युक्त व्यवस्था स्वतः निष्क्रिय गरिनेछ ।
२. विश्वविद्यालयको केन्द्रीय निकायहरु, केन्द्रीय विभाग, विभाग र क्याम्पसहरुमा जनशक्तिको आवश्यक्ता पूरा गर्न र आर्थिक रुपले विपन्न वर्ग र क्षेत्रबाट आएका विद्यार्थीहरुलाई टेवा (सपोर्ट) गर्नका लागि विद्यार्थी सहायतासम्बन्धी नियमावली तयार गरी विद्यार्थीहरुलाई काममा लगाइने छ ।
३. विभिन्न नियायहरुको जनशक्ति आवश्यक्ताको अध्ययन (ओ एण्ड एम) आवश्यक जनशक्तिको दरबन्दीको विश्लेषण गरिनेछ र कार्यालय सहयोगीहरुलाई आउटसोर्सिङबाट लिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
४. आयुर्वेद औषधि विज्ञान, लिबरल आर्टस् र होटल एशोसियसशनसँगको सहकार्यमा मिश्रित पद्धत्ति अनुसार होटल व्यवस्थापन स्नातक तहको पाठ्यक्रम विकास गरिनेछ ।
५. नेपाल विशेष शैक्षिक कार्यक्रमहरु (Mountain Engineering, Mountain Risk Managment, Climbing, High Altitude sports, Mountain Tourism and Mountain Economy and Mountain Environment) र शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम निर्माण गरिनेछ ।
६. श्रम बजारको मागअनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गरिनेछ ।
७. विश्वविद्यालयको पुनर्संरचना गर्न ऐन र नियमको संशोधन प्रक्रिया सुरु गरिनेछ । यसका साथसाथै स्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव अनुसार विश्वविद्यालयको पुनः संरचना गरिनेछ । केन्द्रीय कार्यालयको ओएनएम गरी पुनर्संरचना गरिनेछ ।
८. केन्द्रीय विभाग र विभिन्न स्कुलको रुपमा सञ्चालित नियायहरुको पुनर्संरचना गर्ने र अनुसन्धान केन्द्रलाई सम्बन्धित स्कुलमा गाभ्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
९. निजी क्षेत्रमा सञ्चालित क्याम्पस सामुदायिक क्याम्पसमा, सामुदायिक क्याम्पस सामुदायिक क्याम्पसमा र निजी क्याम्पस निजी क्याम्पसबीच गाभिने नीति अवलम्बन गरिनेछ । उपत्यका बाहिरका क्याम्पससँग गाभिने छैन तर काठाडौं उपत्यका भित्रको क्याम्पस उपत्यका बाहिरका क्याम्पससँग गाभिनसक्नेछ । –गाभिएरु बनेको नयाँ क्याम्पस उपत्यकाभित्र रहन सक्ने छैन ।
१०. विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति तथा पदस्थापना हुने, शिक्षकहरु कम्तीमा विद्यावारिधी हुनुपर्ने व्यवस्था लागु गरिनेछ ।
११. अनुगमन निर्देशनालय, पाठ्यक्रम विकास केन्द्र र अनुसन्धान निर्देशनालयसँग सम्बन्धित यिममा आवश्यक संशोधन गर्दै उपरोक्त निकायहरुलाई साय सापेक्ष गराइने तथा नियममा संशोधन गर्दै आवश्यक्त निर्णय लिइनेछ ।
१२. सामाजिक सञ्जाल, लैङ्गिक हिंसासम्बन्धी नीति निर्माण गरिनेछ ।
बैठकमा बोल्दै सिनेट सदस्य समेत रहेका पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्यालले १५ दिन अघि एजेण्डा दिनुपर्नेमा आफूहरु त्रिविमा प्रवेश गरिसकेपछि मात्रै पठाइएको बताए । त्यस्तै कुलपति ओलीले पुरानै एजेण्डाहरु रहेको भन्दै गरेको तर्कको खण्डन गर्दै अर्यालले त्यहाँ नयाँ एजेण्डाहरु समेत रहेको ध्यानाकर्षण गराएका थिए ।
त्यतिमात्र होइन उनले आफूले विद्यार्थीहरुको प्रतिनिधिको हैसियतमा उपकुलपतिसँग छलफलका लागि पटकपटक समय माग गरेको तर उपकुलपति बरालले समय नदिएको गुनासो गरे । उपकुलपति कार्यालय समयको आधा समय घरमै विभिन्न बहाना बनाएर बस्ने गरेको आरोप लगाउँदै आफूलाई भेट्न बोलाए पनि लामो समय कुराएर बिरामी भएको नाटक गर्दै घर हिँड्ने गरेको गुनासो गरे ।
‘उहाँ उपकुलपति ज्यू त आधा समय घरमै बस्नुहुन्छ । वर्क फर्म होम हुन्छ उहाँको । उहाँलाई विश्वविद्यालयलाई दिने समय नै छैन । उहाँसँग त्रिभुवन विश्वविद्यालयको सिनेटर मैले माग्दा समय पाएको छैन,’ उनको आरोप छ, ‘विभिन्न कालखण्डमा मैले भेट्न पर्यो भन्दा मलाई बोलाउनुहुन्छ, २–३ घण्टा कुराउनुभयो अनि मलाई बिसन्चो भयो भन्दै घर जानुहुन्छ । उहाँको आधा समय घरमा बित्छ र आधा समय मिडिया ट्रायल गर्नुहुन्छ ।’
अर्यालले उपकुलपतिको कार्यक्षमतामा प्रश्न उठाउँदै विभिन्न संकायका डिनदेखि क्याम्पसप्रमुख नियुक्त गर्न नसकेको आरोप लगाए । मेरिटको आधारमा दोस्रो नम्बरमा रहेका व्यक्ति उपकुलपति भएको भन्दै बरालले विश्वविद्यालय चलाउन नसक्ने आरोप समेत लगाए ।
‘न तपाईँ डिन नियुक्ति गर्न सक्नुहुन्छ, न क्याम्पसचिफ नियुक्ति गर्न सक्नुहुन्छ । न एजेण्डाहरु हामीहरुलाई पूर्व जानकारी दिन सक्नुहुन्छ । यसरी उपकुलपतिज्यूले विश्वविद्यालय कसरी चलाउनुहुन्छ ? यो सभा कसरी चलाउनुहुन्छ ?,’ उनको प्रश्न थियो ।
त्यस्तै सभामा उपस्थित अर्का सिनेट सदस्य समेत रहेका जनभावना क्याम्पसको क्याम्पस प्रमुख शिवराज सञ्जेलले उपकुलपति बरालले विधि मिचेर सिनेट बैठक चलाइरहेको आरोप लगाए । दोस्रो नम्बरका व्यक्ति उपकुलपति भएर आउँदा पहिलो नम्बरमा परेको व्यक्ति त्रिविमै रहेको बताउँदै राजीनामा दिन समेत सुझाव दिए ।
‘विधिसम्मत ढंगले तपाईँले यो सभा चलाउन खोज्नु भएको छैन । आदरणीय कुलपतिज्यू र सहकुलपति ज्यूलाई पनि तपाईँ गुमराहमा राखेर मानमर्दन गर्न खोज्नुभएको छ भन्ने मेरो ठहर हो,’ उनले भने, ‘तीन जना मध्ये दोस्रो नम्बरमा हुनुभएको उपकुलपति हुनुहुन्छ । पहिलो नम्बरमा हुने पनि यहीँ हुनुहुन्छ । यो कार्यकारी परिषद्ले एक जना डीन छान्न किन सक्दैन ? हुनसक्छ उपकुलपति जीले म एक नम्बरमा थिइन् भनेर राजीनामा दिन सक्नुहुन्छ मलाई भन्नु केही छैन ।’
सिनेट बैठकमा मेरिटोक्रेसी र उपकुलपति बरालको कार्यशैलीमाथि मात्रै प्रश्न उठेन, बैठकको एजेण्डा प्राध्यापक र कर्मचारीहरुका लागि मात्रै रहेको प्रश्न समेत उठेको छ । विद्यार्थीहरुका प्रतिनिधि समेत उपस्थित सिनेट बैठकमा विद्यार्थीका एजेण्डा भन्दा पनि कर्मचारीहरुदेखि प्राध्यापकसम्मको विषय मात्रै उठेको भन्दै सिनेट सदस्य समेत रहेका त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले प्रश्न उठाए ।
‘यहाँ शिक्षक र कर्मचारीको कुरा म्याक्सिमम छ । कर्मचारीको कसरी सरुवा, कसरी बढुवा, कसरी एक तह माथि कसलाई स्थायी कसलाई एक तह माथि गर्ने भन्दा बाहेक विद्यार्थीका लागि के हो भन्ने कुरा यहाँ मैले देखिन,’ उनले भने ।
त्यस्तै उनले आफूले विभिन्न समयमा विद्यार्थीहरुले पाउनुपर्ने स्कलरशीप, विद्यार्थीको बीमा, सेमेस्टर प्रणालीको थप सुधारका विषयमा सुझाव दिए पनि पदाधिकारीहरुले त्यसलाई बेवास्ता गरेको गुनासो गरे ।
बैठकको प्रक्रियाबारे प्रश्न उठाउँदै नेपाल प्राध्यापक संघका अध्यक्ष रमेशकुमार जोशीले आजको बैठकमा होहल्ला हुनुको मुख्य कारण पदाधिकारीहरुले प्रक्रिया नै पूरा नगरेको कारण उठेको बताए । साथै सिटेनमा पेस भएका कतिपय एजेण्डामाथि प्रश्न गर्दै उनले भने, ‘यसको रुट कज पदाधिकारीहरुले प्रोस्यूडियर कम्पिल्ट नगरेको कारणले यति लामो छलफल भएको हो ।’
निरन्तर उपकुलपति बरालमाथि प्रश्न उठेपछि प्रधानमन्त्री एवं कुलपति ओलीले आफूले यसअघि विभिन्न सिनेट बैठकमा उपस्थित भएको तर आजको बैठक जस्तो अमर्यादित कुनै बैठकमा नभएको भन्दै आपत्ति जनाए ।
प्रधानमन्त्री एवं उपकुलपति ओलीले त्रिविमा वास्तविक रुपमा मेरिट्रोक्रेसी कायम हुन नसकेको भन्दै कटाक्ष गरे । साथै आफूले सधैँ मेरिटोक्रेसी हुनपर्छ भन्दै आएको तर त्यसलाई गलत हिसावले प्रचार गरिएको बताए ।
‘त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ । त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन । कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु,’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘उपकुलपतिलाई त्यसो भन्नु मेरो कर्तव्य होइन र ?’
उनले विद्यार्थीका प्रतिनिधि र अन्य सिनेट सदस्यहरुको धेरै कुराहरु जायज रहेको बताउँदै निमित्त डिन र क्याम्पसप्रमुख नभइ पूर्ण अधिकार प्राप्त डिन र क्याम्पसप्रमुख नियुक्त गरेर आगामी बैठकमा आउन उपकुलति बराललाई निर्देशन दिए ।
‘४ महिनादेखि निमित्त डिन होइन । पूर्ण अधिकारप्राप्त डिन नियुक्त गर्नुपर्ने थियो । अब हामी पुस ७ गते भेट्दाखेरी नयाँ नियुक्त गरिएका डिनहरु लिएर आउनु । मेरो त्यो आग्रह छ,’ उनले भने ।
सिनेट सदस्यहरु र कुलपति स्वंम समेतको असन्तुष्टी पाएपछि उपकुलपति बरालले आफूमाथि २ नम्बरको मान्छे भनेर आरोप आइरहेको भन्दै आगामी दिनमा आउने उपकुलपतिले उक्त आरोप खेप्न नपर्ने गरी अघि बढ्नुपर्ने आग्रह गरे ।
‘जसरी तपाईँहरुले २ नम्बरको भनिराख्नुभएको छ । अरु आउने साथीहरुले पनि मैले त्यो २ नम्बरको मैले जस्तो खप्न नपरोस् भन्ने मेरो दृष्ट्रिकोण रहेको छ,’ उनले भने ।
बराल ०८० फागुनमा त्रिविको उपकुलपति बनेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरिटोक्रेसीको आधारमा भन्दै दोस्रो नम्बरमा सिफारिस भएका बराललाई उपकुलपति बनाएका थिए । प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । तर प्रचण्डले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो ।
आजको बैठकपछि अनौपचारिक छलफलका लागि त्रिवि सभाको अर्को बैठक आगामी पुस ७ गतेका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया