काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा आज शुक्रबार बिहान नेपाल आइपुगेका छन् । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएका उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । विश्वविख्यात वेस्ट इन्डिज खेलाडी पहिलो पटक नेपाल आएका हुन् ।
एनपीएलको पहिलो संस्करणलाई विशेष बनाउन क्यानले लारालाई निमन्त्रणा गरेको हो । उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नुका साथै क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् । ५५ वर्षीय लारा टेस्ट क्रिकेटमा सर्वाधिक चर्चित छन् । लारा सर्वकालिन महान क्रिकेटरमा पर्छन् ।
टेस्ट क्रिकेटको एउटै इनिङ एक्लै चार सय रन बनाउने एक्ला ब्याट्सम्यान पनि हुन् उनी । उनले १३१ टेस्टमा ११ हजार ९५३ रन जोडेका छन्, जसमा ३४ शतक र ४८ अर्धशतक सामेल छन् । यस्तै, २९९ एक दिवसीय खेल्दा १९ शतक र ६३ अर्धशतकसहित १० हजार ४०५ रन बनाएका छन् ।
सन १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका उनले सन् २००७ को अप्रिल २१ मा अन्तिम एकदिवसीय खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले वेस्ट इन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् । उनले गतवर्ष नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा छनोट हुँदा नेपाली टोलीलाई बधाइ दिँदै आफू नेपाल आउन चाहेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया