भारतको एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । भारतको तमिलनाडु राज्यको डिंडिगुल शहरस्थित एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । मृत्यु हुनेमा एक जना बालक समेत रहेको जनाइएको छ ।

उनीहरूलाई एउटा लिफ्टभित्र अचेत अवस्थामा फेला पारिएको र नजिकैको अर्को अस्पताल पुर्‍याइएपछि त्यहाँ मृत घोषणा गरिएको जनाइएको छ । धुँवाले निस्सासिएर उनीहरूको मृत्यु भएको बताइएको छ । अस्पतालमा उपचार गराइरहेका अन्य २९ जना बिरामीलाई हतार हतार उद्धार गरी सरकारी अस्पतालमा सारिएको थियो ।

बिहीबार राति करिब १० बजेतिर उक्त घटना भएको हो । आगो नियन्त्रणमा लिन वारुणयन्त्र र अग्नि नियन्त्रक टोलीलाई करिब दुई घण्टाको समय लागेको जनाइएको छ । विद्युत् सर्ट सर्किटका कारण आगो लागेको प्रारम्भिक अनुमान गरिए पनि विस्तृत अनुसन्धानपछि मात्रै कुनै निष्कर्षमा पुग्न सकिने बताइएको छ ।

करिब एक महिनाअघि उत्तर प्रदेशको झाँसी शहरस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १८ जना नवजात शिशुको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?