दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ : अध्यक्ष ढकाल

लोकपथ
28
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए ।

शुक्रवार सम्पन्न १५औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताए ।

उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र फास्टा अन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको औँल्याए ।

विशेष गरी नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको ढकालले बताए । ढकालले साफ्टाले दक्षिण एसियाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले दक्षिण एसियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनिकरणका लागि स्रोत सीमित रहेको बताए । जलवायु योजना कार्यान्वयनका लागि २०३० सम्म वार्षिक २०० अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?