चाँडै अनुमति प्राप्त कम्पनीमार्फत घरजग्गा खरिदबिक्री गर्ने कानुन कार्यान्वयनमा ल्याउँछौं : अर्थमन्त्री पौडेल 

लोकपथ
175
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीहरूमार्फत मात्रै घरजग्गा खरिदबिक्री गर्ने कानुन छिटै कार्यान्वयनमा ल्याउने बताएका छन्  । 

शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले अनुमति प्राप्त कम्पनीहरूबाट मात्रै घरजग्गा कारोबार हुने ऐन बनाए पनि कार्यान्वयनको लागि नियमवाली आवश्यक रहेको बताए । 

उनले उक्त नियमावली चाँडै बनाएर ऐन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उल्लेख गरे । उनले ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरूको मागमा सरकार सकारात्मक रहेको उल्लेख गरे ।

उनले निजी क्षेत्रलाई ल्याण्डपुलिङको मान्यता दिने विषयमा सरकारले सोचिरहेको पनि बताए । अर्थमन्त्री पौडेलले जग्गा हदबन्दी व्यवस्थाले विगतमा उपयुक्त काम गरे पनि अब समयानुकुल कानुन संशोधन आवश्यक रहेको धारणा राखे । उनले हदबन्दी व्यवस्थाले कृषि व्यवसाय गर्न, सौर्य ऊर्जाको काम गर्न धेरै समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न सरकार तयार रहेको उल्लेख गरे । उनले घरजग्गा व्यवसायमा देखा परेका समस्या अध्ययन गरी सरकारले सहयोग गर्ने र धराशायी हुन नदिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?