काठमाडौं । अन्ततः ज्योति समूह औपचारिक रूपमा फुटेको छ । १०४ वर्ष पुरानो यो उद्योगी घराना पारिवारिक विवादका कारण फुटेको हो ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पद्य ज्योतिले आफ्नो नयाँ समूहको लोगोसहित नाम घोषणा गरेका छन्। अब पद्य ज्योतिले स्थापना गरेको समूहको नाम ‘पद्य ज्योति ग्रुप’ रहनेछ ।
पद्य ज्योति अध्यक्ष रहेको यो समूहमा मिरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृदय, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन् । योसँगै अब औपचारिक रूपमा पद्म ज्योति र रूप ज्योति दाजुभाइले आ–आफ्नै व्यवसाय सञ्चालन गर्नेछन् ।
समूहको लोगोमा कलश र अष्टमंगल समावेश छ । जसले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने समूहले जनाएको छ ।
कार्यक्रममा पद्य ज्योतिअन्तर्गतको समूहबाट सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । अब पद्म ज्योति ग्रुप अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल रहेका छन् ।
कार्यक्रममा अध्यक्ष पद्य ज्योतिले धेरै बाधा र चुनौतीहरू पार गरेर पद्म ज्योति समूह स्थापना भएको बताए । उनले बुबा मणिहर्षको विरासतलाई अवलम्बन गर्दै नयाँ अध्याय सुरु भएको बताए । अब पद्य ज्योति समूह परिवार एक भएर अगाडी बढ्ने र युवा पुस्ताले समूहले नेतृत्व लिने बताए ।
समूहका निर्देशक सौरभ ज्योतिले लामो विरासत बोकेको व्यावसायिक समूह छुट्टिनु परेकोमा दुःख व्यक्त गरे । उनले पारिवारिक व्यवहारका कारण अलग हुनु परे पनि यसलाई एउटा सिकाइ र पाठका रूपमा लिएर अगाडि बढ्ने उनले बताए ।
ज्योति समूहको स्थापना मणिहर्ष ज्योतिले गरेका हुन्। ज्योति समूहमा पद्य ज्योति अध्यक्ष र रूप ज्योति उपाध्यक्ष थिए। ज्योति समूहको सुरुआत उनीहरूका हजुरबुबाले सुरु गरेका थिए । पछि पिता मणिहर्ष ज्योतिले यो समूहलाई व्यावसायिक रूपमा अघि बढाएका थिए । मणिहर्षले स्थापना गरेको व्यापारिक घराना ज्योति समूह सफल व्यापारिक घरानाका रूपमा स्थापित थियो। तर, दाजुभाइ बीचको अंशबन्डा विवादले यो घराना फुटेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया