अब सातै प्रदेशबाट अङ्ग प्रत्यारोपण हुन्छ : मन्त्री पौडेल

लोकपथ
182
Shares

काठमाडौं । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अब सातै प्रदेशबाट मानव अङ्ग प्रत्यारोपणको काम हुने बताएका छन् । आइतबार राजधानीमा सम्पन्न मानव अङ्ग प्रत्यारोपणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मानव अङ्ग प्रत्यारोपणसम्बन्धी काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सातै प्रदेशबाट मानव अङ्ग प्रत्यारोपण गर्न सरकारले काम गरिरहेको बताए । अङ्ग प्रत्यारोपणका लागि प्रादेशिक रुपमै पूर्वाधार निर्माण र जनशक्ति उत्पादनको काम भइरहेको भन्दै चाँडै नै प्रत्यारोपण सुरु हुने उनले बताए ।

शनिवारदेखि सुरु भएको ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स, २०२४’ लाई समापन गने गर्ने क्रममा मन्त्री पौडेलले अङ्ग दान र वितरण सम्बन्धी सफ्टवेयरको समेत शुभारम्भ गरेका छन् । राष्ट्रिय अङ्गदान तथा वितरण अनलाइन सफ्टवेयरको शुभारम्भ गर्दै यसले अब स्वचालित रूपमा प्रत्यारोपणको तालिका निर्माण गर्ने मन्त्री पौडेलले बताए । सफ्टवेयरमा अङ्ग दानसम्बन्धी फारम भर्न सकिने, अङ्ग फेल भएका बिरामीहरूको विवरण र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अङ्ग प्रत्यारोपण नियमावलीमा भए बमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट काम हुने व्यवस्था मिलाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अङ्ग प्रत्यारोपणका सम्बन्धमा कुनै कानुनी जटिलता भए नीति र नियम परिवर्तन गर्नुपर्ने भए विज्ञको सुझावसहित पेस गर्न समेत आग्रह गरेका छन् । विज्ञको सुझावसहित आएको रायलाई आफूले कानुन निर्माणको तहमा सम्बोधन गर्न तत्पर रहेको समेत मन्त्री पौडेलले बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले प्रत्यारोपणको क्षेत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको कामको प्रशंसा गर्दै केन्द्रमा अङ्ग प्रत्यारोपणमा भएको सफलता गर्व गर्न लायकको रहेको भन्दै यो विश्वमै उदाहरणीय रहेको बताए ।

कार्यक्रममा बोल्दै आयोजक कमिटीका संयोजक तथा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अङ्ग प्रत्यारोपण सम्बन्धी कार्य विश्वकै स्वास्थ्य क्षेत्रको लागि सबैभन्दा ठुलो चुनौती रहेको भन्दै त्यसलाई सम्बोधन यस्ता कार्यक्रम महत्त्वपूर्ण रहने बताए ।

कार्यक्रममा नेपाल जस्ता विकासोन्मुख देशमा मानव अङ्ग प्रत्यारोपणका लागि निकै चुनौती रहेको हुँदा चिकित्सा विज्ञानको पाठ्यक्रममै मस्तिष्क मृत्युसम्बन्धी विषय समावेश गरी मस्तिष्क मृत्युका सम्बन्धमा स्पष्ट पार्नुपर्ने विषय उठेको थियो ।
नेपालमा मानव अङ्ग प्रत्यारोपण गर्ने संस्थाहरूको आयोजनामा ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स, २०२४’ आयोजना गरिएको थियो । कार्यक्रममा प्रत्यारोपणको क्षेत्रमा कार्यरत विशेषज्ञहरूको २६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने विभिन्न देशमा अङ्ग प्रत्यारोपणसम्बन्धी काम गर्ने शल्य चिकित्सकको सहभागिता रहेको थियो ।

कार्यक्रममा अमेरिका, बेलायत, नेदरल्याण्ड, जापान तथा छिमेकी देश भारत तथा नेपालको प्रत्यारोपण समाजका अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठ, साइन्टिफिक कमिटीका अध्यक्ष डा. ऋषि कुमार काफ्ले, सचिव डा. कल्पना कुमारी श्रेष्ठ, नव निर्वाचित अध्यक्ष डा. दिव्या सिंह शाह र कोषाध्यक्ष डा. दीपेश श्रेष्ठ लगायत प्रत्यारोपणका क्षेत्रका ख्याति प्राप्त व्यक्तिहरू भेला भएका थिए । नेपालमा प्रत्यारोपणका क्षेत्रमा काम गर्ने संस्थाका पदाधिकारीहरू यसअघि एक अर्काको विरोधमा लाग्ने गरेकामा यस कार्यक्रमपछि भने एउटै छाता संस्था बनाउने गरी एकीकृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?