एकाबिहानै ओलीलाई वामदेवको चुनौती : मेरो बदनाम गर्ने तुच्छ कोसिस नगर्नुहोला

‘मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ’

लोकपथ
2.6k
Shares

काठमाडौं । नेकपा एमालेका पूर्व नेता एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बदनाम गने कोसिस गरेको भन्दै आपत्ति जनाएका छन् ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले वामदेव गौतमले आफूलाई फोन गरेको र राजीनामा मागेको प्रसंग निकालेका थिए । ओलीको सो जिकिरलगत्तै गौतमले आज सोमबार एक विज्ञप्ति जारी गर्दै आफूले फोन ओलीलाई नभएर ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई गरेको दाबी गरेका छन् ।

सोमबार ओलीलाई जवाफ फर्काउँदै गौतमले शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन् । गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमको भनाइ छ ।

ओलीले भने वामदेव गौतमको फोन आएपछि आफैले उठाएको र वामदेवले आफ्नो स्वर नचिनेको बताएका थिए ।
शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वामदेवले आफूलाई फोन गरेर राजीनामा मागेको जानकारी दिएका थिए ।

उनले भनेका थिए, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने मदन भण्डारीलाई कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो तर म चुप लागेँ । अब म बुढो पनि भइसँें, जेसुकै भए पनि मलाई केही छैन । अब केपी ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ भन्दैऊ तिम्रो ठूलोबालाई भनेर । कुरा चाहिँ मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश (स्वकीय सचिव) ठानेर कुरा गर्दै हुनुहुन्थ्यो ।’ नेता गौतमको नम्बरबाट फोन आएको देखेपछि राजेश बज्राचार्यबाट फोन लिएर आफूले कुरा गरेको प्रधानमन्त्री ओलीले बताएका थिए ।

उनले भनेका थिए, ‘कमरेड के छ हालखबर भनें, ठीकै छ भन्नुभयो, कुरा गर्दै गइयो । अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ – प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर । यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो । हस् हजुर भनेर भनें मैले । के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ ।’

उनले भनेका थिए, ‘कमरेड के छ हालखबर भनें, ठीकै छ भन्नुभयो, कुरा गर्दै गइयो । अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ – प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर । यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो । हस् हजुर भनेर भनें मैले । के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ ।’

प्रविधिको जमानामा भ्रम हुने गरी कसैले भिडिओ बनाएको र त्यो भिडिओ सुनेर वामदेवले फोन गरेको उनले बताएका थिए । उनले भनेका थिए, ‘यूटुयुबमा मेरो भनिएको आवाज चिन्नुभयो, म उहाँसँग मोबाइलमा कुरा गरिरहेको छु, त्योचाहिँ चिन्नु भएन तर त्यो भिडिओ मेरै आवाजमा कसैले बनायो होला, एआईको जमाना छ । कांग्रेस र हाम्रोबीचमा लडाइँ लगाउने हिसाबले ।’

यस्तो छ वामदेवको विज्ञप्ति

प्रिय क. केपी ओली,

तपाईंको स्वर र शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि छाँगाबाट खसेजस्तो भएँ ! र, पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ । मैले मेरोमा ‘सेभ’ भएको तपाईंको फोनमा कल गरेँ तर फोन लागेन । त्यसपछि क. राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । कल रिसिभ गर्नुभयो र सदा झैं नमस्कार कमरेड भन्नुभयो ।
त्यसपछि मैले वहाँलाई भनेँ, ‘एउटा सिरियस लिंक मेरोमा आयो । केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु । तु.वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नपर्ने हुन सक्छ ।’
यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नं. राजेशकै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु ।
यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने लागेको थिएन ।
क. केपी, म तपाईंलाई चुनौती दिन्छु, ‘मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।’

    वामदेव गौतम
     १ पुस २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?