काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदन उपर, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
कम्पनीको मंसिर २८ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले पुस २४ गते साधारण सभा आव्हान गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।
त्यस्तै, सभाले कम्पनीलको सो आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ।
साथै, कम्पनीको आर्थिक वर्ष २०७५ देखि २०७९ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले सञ्चालकहरुको बैठक भत्ता ६ हजार र पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार पुर्याउने प्रस्ताव पेश गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया