चितवन । चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो ।
यही पुस ११ गतेदेखि सुरु हुने १८औँ हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा राजधानी घोषणा गर्ने गरी तयारी अघि बढाइएको क्षेत्रीय होटेल संघ सौराहाले जनाएको छ । महोत्सवका संयोजक रामकुमार अर्यालका अनुसार महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । यसका लागि रत्ननगर नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर प्रदेश सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेपछि घोषणाको प्रक्रिया सुरु हुनेछ । अहिले यो प्रक्रिया सुरु गरिएको र महोत्सवको अवसरमा घोषणा हुने अपेक्षा गरिएको छ ।
महोत्सवको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक अर्यालले गत वर्षमा भएका हात्तीदौड तथा हात्तीका छावाको फुटबल प्रतियोगिता यस वर्ष हटाइएको जानकारी दिए । यस वर्ष हात्तीको शङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण कार्यक्रम गरिने उनले बताए।
यस्तै पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग ‘विटुबी’ गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तर्क्रिया जस्ता कार्यक्रम गरिनेछ । यस महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया