रनवे लाइट जडान गरेसँगै अब राजविराजमा पनि रात्रिकालीन उडान हुने

बुद्ध एयरले गर्‍यो परीक्षण उडान

लोकपथ
91
Shares

सप्तरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्वाधार निर्माण गरेसँगै अब सप्तरीको राजविराज विमानस्थलमा पनि रात्रिकालीन उडान हुने भएको छ । रात्रिकालीन उडानका लागि प्राधिकरणले पूर्वाधार निर्माण गरी सोमबार बुद्ध एयर मार्फत सेवा शुभारम्भ गरेको हो ।

देशका अधिकांश विमानस्थलमा रातीको उडानको लागि आवश्यक सङ्केत बत्तीहरू जडान गरी रात्रिकालीन उडान सुरु भइसक्दा पनि राजविराजमा भने रात्रिकालीन उडानको लागि पूर्वाधार थिएन । तर नागरिक उड्डयन प्राधिकरणले पूर्वाधार निर्माण गरी रात्रिकालीन उडानका लागि योग्य बनाएपछि सोमबारबाटै बुद्ध एयरले रात्रिकालीन उडान सुरु गरेको हो ।

रात्रिकालीन उडानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले अब राजविराजमा रात्रिकालीन उडानसँगै पर्यटनको सम्भावना पनि बढेको बताए । विमानस्थल उज्यालो बनेपछि अब सप्तरीको आर्थिक तथा पर्यटकीय सम्भावनामा पनि उज्यालो छरिएको बताए । राजविराजसँगै रात्रिकालीन उडान भर्ने विमानस्थलको सङ्ख्या १० पुगेको भन्दै अब बिस्तारै भरतपुर विमानस्थलमा पनि रात्रिकालीन उडान सुरु गर्नका लागि पूर्वाधार निर्माणको काम भइरहेको बताए ।

पर्यटनमन्त्री पाण्डेले भने, ‘नौ वटा विमानस्थलमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो, यो दशौँ एयरपोर्ट बनेको छ । अब राजविराज छायाँमा पर्नेछैन ।’

पाण्डेले अगाडि भने, ‘यो अहिले देखिएको जुन उज्यालो छ, यो उज्यालोले राजविराजलाई पनि थप उज्यालो बनाउनेछ । यो एयरपोर्टलाई पनि उज्यालो र चलायमान बनाउनेछ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि हामीले अन्तर्राष्ट्रिय उडान गर्नमा आशातीत सफलता नपाए पनि वार्षिक दुई लाख पर्यटकबाट बढेर विमानस्थलबाट १० लाख पर्यटकले यात्रा गर्न थालेका छन् । कुनै पनि एयरपोर्टमा सेवा बिस्तार हुँदा स्वभाविकरुपमा सेवाग्राहीहरू आउँछन्, जसले अर्थतन्त्र लगायत बहु आयामिक प्रभाव पार्न सक्छन् ।’

रात्रिकालीन सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्त्व अझै बढ्ने बताए । राजविराज विमानस्थलको स्तर उन्नतिले सप्तरीमा सम्भावनाको ढोका खोलेको समेत दाबी गरे । अधिकारीले भने, ‘हामी आज उदयपुरबाट यहाँ सडक सञ्जालमार्फत आएका हौँ । हामी आउँदा देखिएको सडकको अवस्थाले विमानस्थलको महत्त्व कति रहेछ भन्ने झन् छर्लङ्ग पारेको छ । राजविराजमा रात्रिकालीन उडान तथा अवतरण गर्ने सुविधा थप भएकाले अब रात पर्‍यो उडान हुँदैन की भन्ने अवस्था आउनेछैन । यसले सम्भावनाको ढोका खोलेको छ ।’

कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)ले राजविराजमा रात्रिकालीन उडान सुरु हुनु सप्तरीवासीका लागि गौरवको क्षण भएको बताए । आफूले सुरुवातदेखि नै रात्रिकालीन उडानका लागि पहल गरेको भन्दै यो सफलता सप्तरीवासीको भएको बताए ।

कार्यक्रममा बोल्दै पूर्व पर्यटन मन्त्री जीतेन्द्र नारायण देवले आफू पर्यटन मन्त्री भएको समयदेखि राजविराजमा रात्रिकालीन उडानका लागि पहल गरेको भन्दै अहिले पूर्वाधार निर्माण भएकामा खुसी व्यक्त गरे । अब राजविराज जोड्न उज्यालो कुर्न नपर्ने भन्दै उडान नियमित गराउनेतर्फ खबरदारी गर्नुपर्ने बताए ।

यसैबिच बुद्ध एयरले सोमबार नै राजविराजका लागि रात्रिकालीन उडानको परीक्षण गरेको छ । यसअघि अपराह्न १ देखि २ बजेको समयमा हुँदै आएको राजविराजको उडान अब रातको समयमा पनि गर्न सक्ने भएको छ ।

बुद्ध एयरका अनुसार यसअघि कम्तीमा ५ हजार भिजिबिलिटी भएको अवस्थामा मात्रै राजविराजमा उडान हुने र त्यो भन्दा कम भिजिबिलिटी हुँदा उडान रद्द गर्नुपर्ने अवस्था भएकामा अब भने कम भिजिबिलिटीमा पनि उडान गर्न सक्ने भएकाले उडान रद्द हुने सम्भावना अत्यन्तै कम रहेको बताएको छ । राजविराजमा हाल बुद्ध एयरले मात्रै दैनिक एक उडान गरेकामा अब रातको समयमा पनि उडान गर्ने गरी सम्भाव्यता अध्ययन सुरु गरेको र यात्रुको चापका आधारमा उडान सङ्ख्या थप गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?