काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूमाथि मिडिया ट्रायल भएको बताएकी छन् ।
रविमाथि सहकारी ठगी प्रकरणमा छानबिन भइरहेका बेला आफ्नो सम्पत्तिकाबारे मिडियापिच्छे नै फरकफरक र गलत धारणा आएको भन्दै कटाक्ष गरेकी हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले आफूले आफ्नो सम्पत्ति विवरण प्रहरीलाई बुझाइसकेको बताउँदै अनुमानका आधारमा समाचार आएको बताइन् ।
‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ,’ उनले भनेकी छिन्, ‘खाता मेरो हो । यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।
त्यस्तै आफ्ना श्रीमान रविमाथि नेपाली कांग्रेस लगायत अन्य दलका नेताहरुले आफूसँग सहकारी ठगीको प्रमाण छ भनेको तर त्यही प्रमाण दिन नसकेको आरोप लगाइन् । साथै आफूहरु प्रश्न गर्नेहरुबाट प्रमाणको प्रतिक्षामा रहेको बताइन् ।
‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौँ,’ उनले भनेकी छिन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा रविमाथि प्रहरीले २ महिनादेखि अनुसन्धान गरिरहेको छ । विभिन्न ५ ठाउँमा रविमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रहरीले प्रतिवेदन बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया