साँझमा औद्योगिक क्षेत्रको विद्युत् कटौती, माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म माग धान्न मुस्किल

लोकपथ
0
Shares

काठमाडौं । मागअनुसार विद्युत् आपुर्ति नहुने अवस्था आएपछि औद्योगिक क्षेत्रको विद्युत् कटौती हुन थालेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समयमा औद्योगिक क्षेत्रको विद्युन् केही कटौती भएको हो ।

सुख्खा याममा नदीहरुमा पानीको सतह घट्ने हुँदा जलविद्युत आयोजनाहरुको उत्पादन पनि घट्दै जान्छ । यसले विद्युत् उत्पादन पनि घट्ने भएकाले माग धान्न मुस्किल हुने प्राधिकरणको भनाई छ । माग अनुसार विद्युतको आपूर्ति धान्न कठिन हुँदा औद्योगिक क्षेत्रको विद्युत कटौती गर्नुपर्ने प्राधिकरणको भनाई छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा अत्यधिक विद्युत खपत हुने समयमा औद्योगिक क्षेत्रको लाइन कटिने बताए । उनले यो समयमा अन्य ग्राहकको आपूर्तिमा कुनै समस्या नहुने पनि प्रष्ट पारे ।

असोज महिनामा आएको बाढील माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याउँदा समस्या थपिएको हो । आगामी पुस १० गतेभित्र विद्युत उत्पादन सुरु गर्ने गरी मर्मतको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय भारतबाट आयात हुँदै आएको विद्युतमा पनि अवरोध भएको छ । नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५४ मेगावाटसम्मको आयात गर्ने अनुमति पाए पनि पीक समयमा भने भारतले आपूर्ति रोक्दै आएको छ ।

पीक समयमा भारतबाट विद्युत आयातको अनुमति नपाउँदा विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ । यता, उद्योगीहरुले भने मंसिरदेखिनै दैनिक ६ देखि १० घण्टासम्म विद्युत कटौती भइरहेको बताउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?