पूर्वराष्ट्रपति भण्डारीलाई किन रोक्न चाहन्छन् प्रधानमन्त्री ओली ?

भण्डारीको (राजनीतिक) सक्रियताले ओलीमा त्रास

काठमाडौं । २०७२ साल कात्तिक ११ गते राष्ट्रपति निर्वाचित हुनु अघि विद्यादेवी भण्डारी सग्लो नेकपा एमालेको उपाध्यक्ष थिइन् । उनी राष्ट्रपति निर्वाचित हुँदा केपी शर्मा ओली एमाले अध्यक्ष थिए । २०७९ फागुन २९ गते राष्ट्रपतिको दोस्रो कार्यकाल सकेर राष्ट्रपति निवास (शीतल निवास)बाट फर्कँदा ओली नै एमालेको अध्यक्ष थिए, पार्टी भने सग्लो थिएन । भण्डारी एमालेको राजनीतिमा सक्रिय रहँदा विगतमा एमालेको नेतृत्व गरेका माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता वामदेव गौतमलगायतका थुप्रै नेताहरूले उनी शीतल निवासबाट फर्कँदा एमालेबाट विद्रोह गरिसकेका थिए ।  

पार्टीका पूर्व महासचिव मदन भण्डारीकी पत्नी, २०५१ देखि संसदीय राजनीति, २०५४ को छैटौँ महाधिवेशनबाट केन्द्रीय सदस्य, त्यसपछि दुई दुई पटक पार्टी उपाध्यक्ष र पटक–पटक मन्त्री भइसकेकी पूर्वराष्ट्रपति भण्डारीलाई एमाले विभाजनको चोट र गिर्दो साख, अनि अध्यक्ष ओलीको मनमौजी व्यवहार र निकटस्थ नेता/कार्यकर्ताको आग्रहका कारण हुनसक्छ : उनी एमालेमा पुनः सक्रिय राजनीति गर्ने सोचाइमा छिन् । 

राष्ट्रपतिका रूपमा ७ वर्ष शीतल निवासमा बिताएर ‘राजनीति गर्नकै लागि’ सरकारी सेवा सुविधासमेत त्यागेकी उनले अहिले चपलीस्थित निजी आवासमै बसेर एमालेकै नेतासँग भेटवार्ता जारी राखेकी छन् । त्यो क्रम पछिल्ला दिनमा झन् बढेको छ । आफू एमालेमा सक्रिय बने वाम एकताको आधार बन्ने विश्वाससमेत उनमा देखिएको उनलाई भेट्न गएका एमाले नेता–कार्यकर्ता बताउँछन् । साथै ‘नेतृत्वले राम्रोसँग अभिभावकत्व ग्रहण गर्न सकेको भए पार्टी विभाजन हुँदैनथ्यो कि ?’ भन्ने चिन्ता पनि उनमा रहेको उनीहरू बताउँछन् । त्यसो त, एमालेभित्र उल्लेख्य संख्याको एउटा पङ्क्ति भण्डारीलाई फेरि पार्टी राजनीतिमा सक्रिय बनाउन लागिपरेकै छ । 

स्रोतहरूका अनुसार, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं हालका अर्थमन्त्री विष्णु पौडेल, कर्णबहादुर थापा, खगराज अधिकारी, भानुभक्त ढकाल, आनन्द पोखरेल, शेरधन राई, विमला राई पौड्याल, डोरमणि पौडेल, गोकुल बाँस्कोटा, कृष्ण राईलगायत नेताहरू पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा ल्याउन सक्रिय छन् ।

उनलाई फर्काउन सकेमा वाम एकताको आधार बनाउन सकिने र हालका अध्यक्ष केपी शर्मा ओलीको ‘एकमना’ कार्यशैलीमा ब्रेक लगाउन सकिने बुझाइ भण्डारीको पक्षमा खुलेर लागेका नेताहरूको छ । त्यसैले उनीहरू भण्डारीको सक्रियता अझै बढाउने गरी लागिपरेका छन् । महाधिवेशन आउन अझै दुई वर्ष बाँकी भएकाले पनि उनलाई अहिलेदेखि नै क्रियाशील बनाउन सकिए ओलीको ‘मनमौजी शासन’ अन्त्य गर्न सकिने विश्वास उनीहरूमा देखिन्छ । 

पछिल्ला दिनलाई विश्लेषण गर्ने हो भने, कुनै न कुनै रूपमा पार्टीका कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई निम्त्याइएको छ । कतिपय कार्यक्रम त उनलाई निम्त्याउनकै लागि पनि आयोजना गरिएको पाइएको छ । महाधिवेशन आउन दुई वर्ष बाँकी नै रहेकाले यो अवधिमा सबैतिर पुग्न सके परिणाम आफ्नो पक्षमा आउने भण्डारी पक्षका नेताको बुझाइ छ ।

तर, एमाले अध्यक्ष ओली उनलाई एमाले राजनीतिमा आउन नदिन खुलेरै लागिरहेका छन् । पछिल्ला दिनमा ओली भण्डारीप्रति थप कडा सुनिन थालेका छन् । एमालेको केन्द्रीय संगठन विभागले प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखलाई केन्द्रीय मुख्यालय च्यासल बोलाएर शनिबार र आइतबार दुई दिने कार्यशाला गरेको थियो । यो कार्यशालामा २३ वटै जनसंगठनका अध्यक्ष, महासचिव र संगठन विभाग प्रमुखलाई पनि बोलाइएको थियो । पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने नीतिअन्तर्गत यो कार्यशाला गरिएको थियो । 

भण्डारीलक्षित आफ्ना कुरा राख्न ओलीले यो मञ्चलाई राम्रैसँग प्रयोग गरे । दुई घण्टा १७ मिनेटभन्दा बढी बोलेका उनले खुलेरै त्यसमा असन्तुष्टि जनाए । नेताहरूका अनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन उत्प्रेरित नगर्न निर्देशन दिएका थिए । ‘के गर्ने, के नगर्ने भनेर आफै निर्णय लिन सक्ने नेता हो, उहाँ (पूर्वराष्ट्रपति भण्डारी) । कसैले गएर गल लगाउनु पर्दैन’ अध्यक्ष ओलीले भनेका थिए, ‘आउन (राजनीतिमा) मन भए हामीसँग कुरा गर्नुहोला । कसैले जाउजाउ भनिरहनु पर्दैन ।’

भण्डारीलक्षित आफ्ना कुरा राख्न ओलीले यो मञ्चलाई राम्रैसँग प्रयोग गरे । दुई घण्टा १७ मिनेटभन्दा बढी बोलेका उनले खुलेरै त्यसमा असन्तुष्टि जनाए । नेताहरूका अनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन उत्प्रेरित नगर्न निर्देशन दिएका थिए । ‘के गर्ने, के नगर्ने भनेर आफै निर्णय लिन सक्ने नेता हो, उहाँ (पूर्वराष्ट्रपति भण्डारी) । कसैले गएर गल लगाउनु पर्दैन’ अध्यक्ष ओलीले भनेका थिए, ‘आउन (राजनीतिमा) मन भए हामीसँग कुरा गर्नुहोला । कसैले जाउजाउ भनिरहनु पर्दैन ।’

त्यसो त ओलीले २०८० साल साउन २९ गते पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पनि पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउने रहर नगर्न भनेका थिए । त्यस बेला उनले भनेका थिए, ‘राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्छ, फेरि राजनीतिमा आउनु राम्रो होइन, कसैले पनि त्यस्तो चाहना राख्नुहुन्न । अहिलेको आवश्यकता पूर्वराष्ट्रपति राजनीतिमा फर्कने होइन ।’ त्यसको अघिल्लो दिन अर्थात् २०८० साउन २८ गते पार्टी कार्यालय च्यासलमै भएको पत्रकार सम्मेलनमा समेत नेताहरूले पूर्वराष्ट्रपति भण्डारीलाई निरन्तर भेटिरहेको भन्दै असन्तुष्टि जनाएका थिए । 

उनले भनेका थिए, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताको एउटा आदरणीय व्यक्तित्व हुनुहुन्छ र फेरि त्योभन्दा अगाडि हाम्रो नजिकको मित्र हो । हाम्रो उपाध्यक्ष पनि हो, हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु सामान्य हो । विष्णु पौडेलजीले मात्र होइन, मैलै पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नुभएको छ, यस्तो विषयलाई कार्ड नै छपाएर लिएर जानुभएको रहेछ, पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गरेको भन्ने यी खालका प्रयासहरूलाई मलजलका साथ साथीहरूले नबुझिईकन गरिन्छ, कहिलेकाहीँ यसो नगरे हुन्थ्यो ।’

माधवकुमार नेपाल महासचिव र झलनाथ खनाल अध्यक्ष हुँदा एमालेभित्र गुट चलाएका ओली आफू अध्यक्ष बनेपछि भने गुट शब्द सुन्नै चाहँदैनन् । कसैले आफ्नो विरोध गरे किनारामा पारिदिने उनको पुरानो बानी हो । आफूले जे गरे पनि ठिक, अरूले गरे बेठीक देख्ने ओलीको पुरानै रोग हो । एमालेका कार्यकारी पदमा बसेका सबै नेता उपस्थित कार्यशालामा सम्बोधन गर्दै चार दिनअघि ओलीले भनेका थिए, ‘पार्टीभित्र गुट छैन, त्यसको जरुरी पनि छैन, म छँदै छु, सबैलाई मिलाएर म लगिहाल्छु ।’ 

‘पार्टीभित्र गुटहरू छन् । विष्णु पौडेल र शंकर पोखरेल समूह बलियो छ भन्ने अध्यक्षलाई थाहा छ’ एमाले पोलिटब्युरोका एक सदस्य भन्छन्, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टीको भावी नेतृत्वको आकांक्षी हुनुहुन्छ भन्ने थाहा छ । त्यसैले एउटा सन्देश दिनकै लागि गुटबन्दी छैन भन्नुभयो जस्तो लाग्छ ।’ उनी अध्यक्ष ओलीको टिप्पणीलाई भावी नेतृत्वबारे प्रस्ट सन्देशकै रूपमा बुझ्न सकिने बताउँछन् । ‘आफू रहँदासम्म पार्टीको नेतृत्वमा कसैले चाहना राख्नुहुन्न, कसैलाई दिनुपरे म आफैँ दिन्छु भन्ने उहाँको कुरा हो,’ ती नेता भन्छन् ।

स्पष्ट के छ भने, ओलीलाई टक्कर दिने नेता अहिले एमालेमा कोही पनि छैनन् । उनलाई टक्कर दिने नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम अहिले एमालेमा छैनन् । नेपाल एमालेबाट विद्रोह गरेर गठन गरिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् भने खनाल सम्मानित नेता । गौतम राष्ट्रिय एकता अभियानका संयोजक छन् । उनलाई टक्कर दिने अर्का नेता भीम रावलले एमालेको राजनीति छाडिसकेको घोषणा गरेका छैनन् । तर उनलाई आफूसँग अध्यक्षमा भिडेको भन्दै ओलीले लखेट्नु लखेटेका छन् । पूर्वराष्ट्रपति भण्डारीप्रति ओली रुखो देखिनुको कारण अबको महाधिवेशनमा फेरि अध्यक्ष बन्ने चाहना नै हो । 

ओली २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । उनले त्यस बेला वामदेवको सहयोग लिएर माधवकुमार नेपाललाई अत्यन्तै झिनो मतान्तरले हराएका थिए । २०७४ को चुनावपछि माओवादीसँग पार्टी एकता हुँदा पनि ओली नेकपाको अध्यक्ष नै रहे । नेकपाको एकता भङ्ग भएपछि पुनर्स्थापित एमालेको दसौँ महाधिवेशनबाट फेरि अध्यक्ष भए । एघारौँ महाधिवेशनबाट पनि अध्यक्ष बन्न ओलीले पार्टीभित्र ७० वर्षे उमेर हद हटाउने निर्णय गरिसकेका छन् ।

भण्डारी राजनीतिमा फर्कने चर्चाले एमालेभित्र हलचल मच्चिएको एमाले नेताहरू स्वीकार गर्छन् । तर, त्यो सम्भावना तत्काल नभएको ओलीनिकट नेता विशाल भट्टराई दाबी गर्छन् । ‘अबको नेतृत्व पनि केपी शर्मा ओली नै हो भन्ने प्रस्ट छ,’ उनले भने, ‘अझै महाधिवेशन आउन दुई वर्ष बाँकी छ । यदि स्वास्थ्यमा समस्या नआए, फेरि उहाँ नै अध्यक्ष बन्ने हो, पाँच–सात वर्ष भण्डारी राजनीतिमा फर्कने कुनै सम्भावना छैन, त्यसपछि राजनीति कसरी विकास हुन्छ, हेरौँ ।’

महाधिवेशनअघि नै भण्डारी सक्रिय भए अप्ठेरो हुने भय उनमा देखिन्छ । एमालेका केही नेताहरू अबको महाधिवेशनमा भण्डारीलाई नै अघि सार्नुपर्ने पक्षमा खुलेर लागेकाले पनि उनमा भय बढेको हो । 

पछिल्ला दिनमा भने पूर्वराष्ट्रपति भण्डारीले पनि सक्रियता बढाइरहेकी छन् । एमालेको राजनीतिमा पुनः सक्रिय हुने कोसिसमा रहेकी उनी त्यसको वातावरण बनाउन सार्वजनिक कार्यक्रममा मात्रै नभई एमालेका विभिन्न संगठनका गतिविधिमा पनि सहभागी भइरहेकी छन् ।

शनिबार मात्र उनी काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेनिकट कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनिन्, जुन कार्यक्रममा एमालेका दुई दर्जनभन्दा बढी सांसदको उपस्थिति रहेको थियो । ‘सांस्कृतिक साँझ’ नाम दिइएको उक्त कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले भाषण नगरे पनि त्यसको कम्पन ओलीले राम्रैसँग महसुस गरे । त्यसको भोलिपल्टै ओलीले भण्डारीप्रति तिक्तता व्यक्त गरेपछि ओलीको विपक्षमा रहेका एमालेका नेता तथा सांसदहरू आफूहरूको आत्मविश्वास झन् बढेको बताउँछन् । 

‘अब पछि हट्ने कुरा आउँदैन,’ ती नेताले आत्मविश्वाससहित भने, ‘पार्टी अध्यक्षले नै यो विषयमा बोल्न थालेपछि तात्नका लागि झन् मद्दत नै गरेको छ ।’ भण्डारीलाई सक्रिय बनाउन जोड गरिरहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा अध्यक्ष ओलीलाई आफ्नै भनाइ स्मरण गर्न सुझाव दिन्छन् ।  ‘विगतमा त उहाँले आफैँ भन्नुभएको होइन त पूर्व राष्ट्रपतिले पार्टीमा आउन सक्नुहुन्छ, प्रधानमन्त्री बन्न पाउनुहुन्छ, पार्टीको अध्यक्ष बन्न सक्नुहुन्छ, भनेर ?’ उनी थप्छन्, ‘देशको राष्ट्रपति भइसकेका व्यक्ति कसैले उचालेर होइन, विवेकमा चल्नुहुन्छ ।’ 

थापा अगाडि भन्छन्, ‘अहिलेको राजनीतिमा उहाँ (भण्डारी) लाई निर्विवाद रूपमा स्वीकार्दा पार्टीभित्र साझा नेतृत्व स्थापित हुन्छ । केपी ओलीपछि अरू नेता भन्दा विद्या भण्डारीले नेतृत्व गर्दा पार्टी एकताबद्ध हुने थापाको तर्क छ ।  एमाले उपाध्यक्ष ईश्वर पोखरेल पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउने कि नआउने भन्ने कुरालाई चार वटा विषयबाट मूल्याङ्कन गर्नुपर्ने देख्छन् । उनका अनुसार पहिलो, राजनीतिमा आउन राज्यको संविधानले रोक्छ कि रोक्दैन भन्ने हेर्नु आवश्यक छ । दोस्रो, सम्बन्धित दलको विधानले रोक्छ कि रोक्दैन ख्याल गरिनुपर्छ ।

तेस्रो, राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने अन्तर्राष्ट्रिय अभ्यासमा के–कस्ता कुरा स्थापित छन् भन्ने विषयलाई हेर्नुपर्छ । चौथो, कुरा दलको कार्यकर्ताको चाहना र सम्बन्धित व्यक्तिको चाहनामा निर्भर रहन्छ ।  पोखरेल भन्छन्, ‘कोही व्यक्ति राजनीतिमा आउँछन् कि आउँदैन भन्ने ती कुराको आधारमा फैसला होला नि । कसैलाई राजनीतिमा आऊ–आऊ, नआऊ–नआऊ भन्ने हो र ?’

भण्डारीले राजनीतिमा आउने नआउने धारणा सार्वजनिक नगर्दासम्म कुनै पनि कित्तामा उभिएर टीकाटिप्पणी गर्नुको तुक नरहेको पोखरेको भनाइ छ । ‘एमालेमाथि उहाँको हक पनि छ । एमालेले जन्मायो, हुर्कायो त्यो ठाउँमा पुर्‍यायो । एमालेप्रति उहाँको माया छ,’ पोखरेलले भने । 

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भानुभक्त ढकाल राजनीतिमा सक्रिय हुने–नहुने निर्णय भण्डारीमा नै निर्भर रहने बताउँछन् । भण्डारी पार्टीको कार्यक्रममा नभएर सामाजिक कार्यक्रममा सहभागी भएको  उनको तर्क छ । ‘उमेर हेर्दा त उहाँको सक्रिय हुने बेला नै छ । सम्माननीय पदमा दुई पटक रहनु भएकाले के गर्ने भन्ने कुरा त उहाँले निर्णय गर्ने विषय हो,’ उनी भन्छन्, ‘सामाजिक कार्यक्रममा स्वाभाविक नै हो नि ।’

एमाले नेता कृष्ण राई, पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई अस्वाभाविक रूपमा हेर्न नहुने बताउँछन् । भण्डारीलाई राजनीतिमा आउन खुलेरै सहयोग गरिरहेका राई भन्छन्, ‘६२ वर्षकै उमेरमा निष्क्रिय बस्नुहोस् भन्यो भने कसैले मान्ला ? समकालीन राजनीतिमा यो प्रश्नको जवाफ दिने परिस्थिति छैन ।’

एमाले नेता कृष्ण राई, पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई अस्वाभाविक रूपमा हेर्न नहुने बताउँछन् । भण्डारीलाई राजनीतिमा आउन खुलेरै सहयोग गरिरहेका राई भन्छन्, ‘६२ वर्षकै उमेरमा निष्क्रिय बस्नुहोस् भन्यो भने कसैले मान्ला ? समकालीन राजनीतिमा यो प्रश्नको जवाफ दिने परिस्थिति छैन ।’

त्यसो त ओलीले भण्डारीलाई राजनीतिमा आउन नदिन २०८० वैशाख १० गते नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारी एमालेकै मञ्चबाट ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेका थिए । उनको त्यो सम्मान पार्टी राजनीतिमा भण्डारीको सम्भावित आगमन रोक्न र पार्टीको घेराभन्दा माथि नै बस्नका लागि सार्वजनिक रूपमा दिएको अर्को सन्देश थियो । तर अर्का थरीको मत के छ भने राजनीतिमा सक्रिय हुने उनको चाहना अनुसार बाटो खोलिएको हो । 

तर ओलीले भनेबमोजिम भएन । भण्डारीले क्रियाशीलता थप बढाइन् । सम्मानित भएको तीन दिनपछि भण्डारी एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवसको कार्यक्रममा देखिइन् । २५औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा भण्डारी प्रमुख अतिथि थिइन् । त्यसो त, एमालेले गत २०८० को जेठ १६ र १७ गते ३२ जनसंगठनका महिलाहरूको राष्ट्रिय भेला गरिएको थियो । जसमा प्रमुख अतिथिका रूपमा भण्डारी नै थिइन् । भण्डारी एमालेमा लामो समय अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी रहेकी थिइन् ।

पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताले उनी एकपटक फेरि पनि पार्टी राजनीतिमा आउन चाहेको घटनाक्रमले देखाइरहेका छन् । तर ओलीलाई एकमात्रै डर भनेको भण्डारी राजनीतिमा आउँदा ‘सर्वमान्य’ हुने र आफू बाहिरी कित्तामा पर्छु कि भन्ने नै हो । कहिले उमेर हद हटाएर त कहिले उपाध्यक्षलाई राष्ट्रपति बनाएर पार्टीभित्र हालीमुहाली गरिरहेका ओली भण्डारीको सम्भावित आगमनबाट त्रसित छन् र उनलाई रोकेर फेरि पनि पार्टीको अध्यक्षदेखि राजनीतिक लाभको पदमा आसिन हुन चाहन्छन् भन्ने पुष्टि भइसकेको अवस्थामा भण्डारीलाई रोक्न सकिए आफ्नो मनमौजी झनै फस्टाउने ओलीको चाहना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?