डा. भोला रिजाललाई ॐ हस्पिटलको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मान

लोकपथ
203
Shares

काठमाडौं । स्त्री तथा प्रसूति रोग विशेष डा. भोला रिजाललाई ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरले विशेष सम्मान गरेको छ । यही मंसिर २९ गते अस्पतालको २८ औँ वार्षिक साधारण सभाको अवसरमा डा. रिजाललाई ॐ हस्पिटलको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मानबाट सम्मानित गरेको हो ।

डा. रिजाललाई काठमाडौंको धुम्बाराही स्थित होटेल रामादा अकामामा आयोजित विशेष समारोहमा अस्पतालका सञ्चालकहरू, शेयरधनीहरु तथा उच्च व्यवस्थापनका माझ ॐ हस्पिटलका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले माला तथा दोसल्ला सहित कदर पत्र हस्तान्तरण गरी सम्मान गरे ।

सम्मान ग्रहण कार्यक्रममा बोल्दै डा. रिजालले ॐ अस्पताल संचालक समिति, शेयरधनीहरु र अस्पताल व्यवस्थापनलाई आभार व्यक्त गरे । अस्पतालको परिकल्पना, सुरुवाती दिनका संघर्ष र यादहरू स्मरण गर्दै डा. रिजालले आजको ॐ हस्पिटल देशले गर्व गर्न लायकको निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक बनाउन अहोरात्र लागि पर्ने सबैलाई धन्यवाद दिए । ॐ हस्पिटल आफूले जन्माएको सन्तान सरह लाग्ने भएकाले आफूलाई अत्यन्त प्यारो लाग्ने गरेको र यसका हरेक सुख दुःखमा आफू जानकार रहेको भन्दै डा. रिजालले यसको हितमा सधैँ साथ रहेको र भविष्यमा पनि रहिरहने प्रतिबद्धता जनाए ।

ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले नेपाली कला, साहित्य, सङ्गीत, चलचित्र, समाज सेवा र सनातन धर्मको सेवामा प्रेरणादायी रूपमा सक्रिय डा. रिजाललाई सम्मानित गर्न पाएर आफू र ॐ हस्पिटल परिवार पनि सम्मानित भएको बताए ।

विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनसँगै नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रबाट डा.रिमालको नेतृत्वमा स्थापना भएको तत्कालीन ॐ नर्सिङ होम पछि २०५२ सालदेखि ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरमा रूपान्तरित भई विगत ३५ वर्षदेखि गुणस्तरीय, आधुनिक र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

डा. रिजालले नेपालमा आधुनिक चिकित्सा क्षेत्रको स्त्तरवृद्धि गर्ने एवं नयाँ पुस्ताका चिकित्सकहरूलाई प्रेरणा तथा मार्गदर्शन दिनुका साथै हजारौँ महिलाको जीवन रक्षा गरेको अस्पतालले जनाएको छ । 

नेपालमा पहिलो पटक ॐ हस्पिटलमा आईभीएफ सेन्टरको स्थापना गरी हजारौँ निःसन्तान दम्पतीहरूलाई वात्सल्य सुख प्रदान गर्न सफल डा. रिजालले ॐ हेल्थ फाउन्डेसन मार्फत नेपालका दुर्गम तथा अति विकट क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर अस्पतालको सामाजिक उत्तरदायित्व वहनमा उदाहरणीय कार्य गरेका छन् ।

ॐ हस्पिटलमा हाल १७५ शय्याको ३६ वटाभन्दा बढी विशेषज्ञता सेवासहितको अत्याधुनिक सुविधा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

डा रिजाल र उनको परिवारको समेत ॐ हस्पिटलमा मेजर शेयर होल्डिङ्ग यथावत् रहेको र श्रीमती सरला रिजाल अस्पतालको संचालक समितिको संचालक समेत रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?