एनआरएनएको दशौँ एकता महाधिवेशन मे महिनामा काठमाडौंमा हुने

लोकपथ
42
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दशौँ एकता महाधिवेशन आगामी २०२५ मे ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । एनआरएनएको उच्चस्तरीय समिति बैठकले संघको दशौँ एकता महाधिवेशन आगामी मेमा गर्ने निर्णय गरेको हो ।

उच्चस्तरीय समितिको भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र अन्य महत्त्वपूर्ण निर्णयहरू लिएको समितिले जानकारी दिएको छ।

बैठकले समितिको सचिवालयमा रबिना थापा, जानकी गुरुङ, कुमार पन्त र कुल आचार्यलाई थप गर्दै सचिवालयलाई चार सदस्यीय बनाउने निर्णय गरेको छ।

त्यस्तै, बैठकले संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि (टर्म्स अफ रेफरेन्स) निर्माण गर्न एक समिति गठन गरेको छ। उक्त समितिमा डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवरसहित परराष्ट्र र कानुन मन्त्रालयका प्रतिनिधि रहनेछन्। कार्यविधि निर्माण समितिले महाधिवेशन आयोजना तथा सञ्चालनसम्बन्धी आवश्यक सुझाव आगामी बैठकमा पेस गर्नेछ।

साथै, संघको एकीकृत महाधिवेशन सम्पन्न गर्न सबै पक्षसँग आवश्यक छलफल तथा संवाद गर्न जीवा लामिछाने, राम प्रताप थापा, भीम उदास र कुमार पन्तलाई जिम्मेवारी दिइएको छ।

बैठकले गैर आवासीय नेपाली संघको सदस्यता वितरण खुला गर्दै एकीकृत महाधिवेशन सम्पन्न गर्न आवश्यक समन्वयका लागि सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?