सुदूरपश्चिम रोयल्स फाइनलमा, दोस्रो क्वालिफायरमा जनकपुर र कर्णाली भिड्ने

लोकपथ
105
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्स बुधबार जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । बलियो प्रतिद्वन्द्वीका रूपमा हेरिएको जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिमले उपाधि भिडन्त तय गरेको हो । यसअघि लिगमा पनि सुदूरपश्चिमले जनकपुर बोल्ट्समाथि जित निकालेको थियो ।

त्यो विजययात्रा प्लेअफमा पनि सुदूरपश्मिचले कायमै राख्यो । अब पराजित जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग बिहीबार नै खेल्नेछ । कर्णाली पनि बुधबार नै इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । 

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा सुदूरपश्चिम पूर्ण हाबी भयो । बलिङ र ब्याटिङमा राम्रो साथ पाएपछि सुदूरपश्चिमले जनकपुरविरुद्धको जितयात्रा कायमै राखेको हो । यससँगै १४० रनको लक्ष्य सुदूरपश्चिले १८.३ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतक बनाए । सुदूरपश्चिमले राम्रो सुरुआत पायो । ओपनरद्वय विनोद र सैब जैबले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे । विनोद र जैबले पावर प्लेमा ४८ रन जोडे ।

आठौँ ओभरमा किशोर महतोले जैबलाई ३२ रनमा जिमी निसमद्वारा आउट गरेका हुन् । जैबले २१ बलमा तीन चौका र दुई छक्का हिर्काए । विनादले अर्को छेउबाट इनिङ जारी राखे । उनले दोस्रो विकेटका लागि पनि ब्रेन्डन म्याकमुलनसँग ५९ रनको अर्को साझेदारी गरे । १५ औँ ओभरमा म्याकमुलन २५ रनमा आउट भए । स्पिनर ललित राजवंशीले उनलाई जिमीबाट क्याच गराए । म्याकमुलनले १९ बलमा समान एक चौका र छक्का प्रहार गरे । त्यसपछि तेस्रो विकेटका लागि विनोदले कप्तान दीपेन्द्रसिंह ऐरीसँग २६ रनको अविजित साझेदारी गरे । 

विनोद ५८ र दीपेन्द्र २० रनमा अविजित रहे । विनोदले ५५ बलमा समान तीन चौका र छक्का हिर्काए । दीपेन्द्रको इनिङमा समान एक चौका र छक्का रह्यो । जनकपुरको बलिङमा ललित र किशोरले समान एक विकेट लिए । समान चार ओभरमा ललितले ३७ रन खर्चिदा किशोरले १६ रन मात्र दिए । टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । मध्य क्रमका ब्याटर निसमले सर्वाधिक ४५ रन जोड्दै जनकपुरको इनिङ समाले । उनले २३ बलमा तीन चौका र छक्का प्रहार गरे । 

त्यसअघि जनकपुरले सुरुदेखि नै दबाबमा रहेर ब्याटिङ गर्‍यो । शीर्ष क्रमका ब्याटरले राम्रो सुरुवात दिन सकेनन् । ओपनरद्वय लाहिरु मिलन्था १२ र कप्तान आसिफ शेख ११ रनमा आउट भए । पावर प्लेमा ओपनरद्वय गुमाउँदा जनकपुरले ३७ रन जोड्यो । शुभ कंसाकारले इनिङ समाल्ने प्रयास गरे । तर उनी २६ रनमा रनआउट हुनपुगे । उनको इनिङमा चार चौका रह्यो । त्यसपछि आएका हर्ष ठाकर १२ र अरनिको यादव ११ रनमा आउट भए । मध्य क्रमका निसामले इनिङ समाले पनि साथ पाउन सकेनन् । 

मोहम्मद मोहसिन ३, आकाश त्रिपाठी ४ र शेर मल्लले ३ रन मात्र बनाए । सुदूरपश्चिमको बलिङमा कप्तान दीपेन्द्रले तीन, जैबले दुई तथा स्कट कुग्गेलिन र अविनाश बोहराले समान एक विकेट लिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?