बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला र उपाध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध, कार्यसमिति सदस्य पनि सर्वसम्मत

लोकपथ
49
Shares

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । संघको आज बसेको ३८ औँ वार्षिक साधारण सभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला बैंकर्स संघका उपाध्यक्ष थिए । संघमा उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधानका कारण कोइराला सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । 

उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान रहे पनि यो वर्ष प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पनि अध्यक्ष पदमा दावेदारी गरेपछि निर्वाचन प्रणालीमा जाने पक्कापक्की जस्तै भएको थियो । तर, सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्ने निर्णय गरेसँगै शेरचनले दावेदारी फिर्ता लिएका थिए ।

शेरचनको दावेदारी फिर्तासँगै कोइराला सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । बैंकर्स संघमा विगत १३ वर्षयता उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले निरन्तरता पाएको छ । 

यसैगरी, साधारण सभाले संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई चयन गरेको छ । संघमा रिक्त तीन जना कार्यसमिति सदस्यहरूमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे, एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन भएका छन् । खालिङ यसअघि पनि कार्यसमितिमा सदस्य थिए । 

संघको नयाँ कार्यसमिति सदस्यहरूमा कोइराला अध्यक्ष, निवर्तमान अध्यक्ष सुनिल केसी, उपाध्यक्ष सुरेन्द्रराज रेग्मी, सदस्यहरूमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका रामचन्द्र खनाल, नेपाल बैंकका तिलकराज पाण्डे, नेपाल एसबीआई बैंकका दीपक कुमार डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, सानिमा बैंकका निश्चलराज पाण्डे रहेका छन् । 

हिमालयन बैंकका सीईओ अशोक राणा र नबिल बैंकका ज्ञानेन्द्र ढुङ्गाना सल्लाहकारको भूमिकामा रूपमा रहेका छन् ।

बैंकर्स संघको अध्यक्ष बनेका कोइरालाको बैङ्किङ यात्रा

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा बैंकर्स संघका नवनियुक्त अध्यक्ष सन्तोष कोइरालाले सन् २००० बाट बैङ्किङ करियरको सुरुवात गरेका हुन् । 

बैंक अफ काठमान्डुबाट बैङ्किङ करियर थालेका उनी सानिमा बैंक हुँदै हाल माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारीको रूपमा उनको यो दोस्रो कार्यकाल हो । सीईओ हुँदै उनी २०८१ पुस ३ गतेबाट नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष बनेका छन् ।  

एक सफल बैंकरको छवि बनाएका कोइरालाको जन्म भोजपुरको भोजपुर नगरपालिका वडा नं. ४ मा भएको हो । उनले स्थानीय दुर्गेश्वर प्राविमा कक्षा २ सम्मको अध्ययनपश्चात् सिद्धेश्वर माविमा कक्षा ५ सम्मको पढाई गरेका थिए ।  

कोइरालाको परिवार भद्रपुर नगरपालिका, झापामा बसाइ सरेपछि उनले वीरेन्द्र माविबाट २०४५ सालमा एसएलसी गरे । बिस २०४८ सालमा अमृत साइन्स क्याम्पसबाट आईएससी पास गरेपछि उनले अध्यापनलाई रोजे ।

२०५२ सालसम्म कहिले काठमाडौं त कहिले झापामा गरेर अध्यापनमा पनि सक्रिय उनले सोही अवधिमा मेची बहुमुखी क्याम्पसबाट वाणिज्यमा स्नातक गरे । 

२०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेपछि उनले नेदरल्यान्डबाट एडभान्स लिडरसिप म्यानेजमेन्टमा डिप्लोमा कोर्स पुरा गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?