निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न सांसदहरुको जोड

लोकपथ
49
Shares

काठमाडौं ।  प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन्  ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ताले कार्य सम्पादनका आधारमा कर्मचारीको पदोन्नति र सरुवा प्रणालीलाई व्यवस्थित गरिनुपर्ने सुझाव दिए।

समितिले विधेयकलाई संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटकासाथ संशोधनकर्ता सदस्यसँग सुझाव लिई दफावार छलफल अघि बढाएको छ ।

समितिको आजको बैठकमा सांसदद्वय गंगा कार्की र अम्बरबहादुर थापाले निजामती सेवाको निष्पक्षता, तटस्थता र गरिमाको ओज राख्न राजनीतिक हस्तक्षेप हुन नहुने र कार्यसम्पादनका आधारमा पुरस्कार, पदोन्नति र दण्डित गर्ने व्यवस्था ऐनमा समेटन आवश्यक रहेको बताए । 

उनीहरूले निजामती सेवाको हालको अवस्थामा सुधार नभएमा  भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न चुनौती हुने धारणा राखे । बैठकमा सांसद किरणकुमार साहले कार्य सम्पादनका आधारमा बढुवा र सरुवालाई अनुमान योग्य बनाइनुपर्छ  उनले भने  ।

सांसद् कुसुमदेवी रानाले अध्ययनका हिसाबले तेजिला विद्यार्थी विदेश पलायन भएकाले निजामती सेवाको ओज कायम राख्न तथा  अब्बल जनशक्ति भित्र्याउन माथिल्लो तहमा पनि केही प्रतिशत खुल्लाबाट प्रवेश गर्न सक्ने व्यवस्था गर्न सुझाव दिए।

हाल दफावार छलफलमा रहेको निजामतीसम्बन्धी विधेयकमा  एक सय २४ जना सांसदबाट एक हजार पाँच सय ८३ संशोधन परेको छ । उक्त विधेयकमाथि हालसम्म ४० भन्दा बढी सदस्यले संशोधन औचित्य पुष्टयाई गर्दै संशोधनको प्रतिरक्षा गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?