समाचारले हुर्मत लिँदासमेत टुलुटुलु हेरेर बस्नुपरेको छ : प्रधानन्यायाधीश राउत

लोकपथ
2.6k
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सञ्चारमाध्यमबाट आउने कतिपय समाचारले न्यायाधीश र न्यायालयको हुर्मत लिँदासमेत टुलुटुलु हेरेर बस्नुपरेको गुनासो गरेका छन् । उनले केही सञ्चारमाध्यमले जथाभावी गलत समाचार लेख्दा पनि न्यायाधीश चुपचाप बस्नुपरेको बताएका हुन् ।

न्यायाधीश समाज नेपालले गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकासम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील हुन उनले सञ्चारकर्मीलाई आग्रह गरेका हुन् । कहिलेकाहीँ न्यायाधीश वा न्यायालयका सम्बन्धमा गलत र भ्रामक समाचार पनि प्रकाशित हुने गरेको र त्यस्ता समाचारले न्यायपालिका र न्यायाधीशको हुर्मत नि गरेको राउतको गुनासो थियो । यद्यपि न्यायाधीशले बोल्ने भनेको फैसलाबाट मात्रै भएकाले समाचारले हुर्मत लिँदा वा क्षति पुराउँदा पनि चुपचाप बस्नुपरेको उनको भनाई थियो ।

उनले भने, ‘कलमको टुप्पोमा यस्तो शक्ति छ, जसले एक निमेषमै कसैलाई सिध्याइदिन सक्छ । सिध्याइदिएपछि त्यसको भर्ताल हुन बर्षौसम्म लाग्छ ।’

न्यायपालिका र सञ्चारमाध्यमका बीच धेरै कुरामा समानता रहेको भन्दै दुवै संस्था स्वतन्त्र रहेको र त्यसको सही प्रयोग भयो वा दुरुपयोग भयो भन्ने सम्बन्धमा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने राउतले बताए ।

न्यायपालिकाको प्राण भनेकै निष्पक्षता रहेको भन्दै न्यायपालिका निष्पक्ष भएन भने थेग्नै नसक्ने अवस्था आउनेसमेत राउतले बताए । 

न्यायपालिका र सञ्चारमाध्यमलाई संविधानले नै स्वतन्त्रता दिएको भन्दै त्यसको दुरुपयोग कुनै स्थानबाट हुन नहुने उनले बताए । उनले भने, ‘यी दुई अङ्गलाई संविधानले नै स्वतन्त्रतादिएको छ । तर स्वतन्त्रता स्वच्छन्दतामा परिणत हुन दिनु हुँदैन । त्यही भएर न्यायपालिकाको हकमा हामीले संयमतापूर्वक स्वतन्त्रताको प्रयोग गरेका छौँ ।’

पत्रकारिता र न्यायपालिका दुबैमा आचारसंहिता रहेको भन्दै आचारसंंहिताको सीमा कसैले नाघ्न नहुने र नाघेमा त्यसले दुष्परिणाम ल्याउने बताए । न्यायपालिकामा कसैले आचारसंहिता नाघेमा कारबाही हुने गरेको भन्दै सञ्चारमाध्यम र पत्रकार पनि स्वनियमनमा रहनुपर्ने उनले बताए । 

आफू पूर्ण प्रेस स्वतन्त्रताप्रति दृढ रहेको भन्दै सीमा र मर्यादा नाघेमा भने त्यसले दुष्परिणाम निम्त्याउने चेतावनीसमेत दिएका छन् । उनले भने, ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति म दृढ छु र त्यो विश्वास दिलाउन चाहन्छु । मैले मेरो सीमा र मर्यादा नाघ्न मिल्दैन र त्यो सञ्चारमाध्यमले पनि गर्न मिल्दैन । एक लयमा बग्ने नदीले जब सीमा नाघ्छ नि, त्यसपछि विध्वंस निम्त्याउँछ ।त्यसकारण हामी सीमाभित्रै रहनुपर्छ र न्यायिक मर्यादा नाघ्नुहुँदैन भन्ने विषयमा म जानकार छु ।’

कतिपय सञ्चारमाध्यमले पटकपटक गलत र भ्रामक समाचार सम्प्रेषण गर्दा न्यायपालिकालाई अप्ठेरो परेको भन्दै न्युज सेन्सेसन गर्ने, सनसनीपूर्ण बनाउने मोहमा असत्य र भ्रामक समाचार प्रकाशन नगरिदिन आग्रहसमेत गरेका छन् । समाचार आएर व्यक्ति वा संस्थाको हुर्मत लिइसकेपछि त्यसको क्षतिपूर्ति नहुने भएकाले त्यस्ता विषयमा संवेदनशील उनले आग्रह गरे । 

न्यायपालिका कमजोर हुँदा पत्रकारिताको संरक्षण गर्न सक्दैन

प्रधानन्यायाधीश राउतले न्यायपालिका जनआस्थामा टिकेको संस्था भएकाले न्यायपालिका कमजोर भयो भने पत्रकारिताको समेत संरक्षण गर्न नसक्ने बताए । उनले भने, ‘न्यायपालिका केवल जनआस्थामा मात्रै टिक्छ, त्यसकारण विचार सम्प्रेषण गर्दा कमजोर हुन पुग्यो भने राज्यका चौथो अङ्गलाई पनि संरक्षण गर्न सक्दैन । सञ्चारमाध्यम र न्यायालय दुवै विश्वासमा मात्रै टिक्छ । विश्वसनीयतामा टिक्ने संस्थाहरु हाम्रा असल काम कारबाहीमा मात्रै टिक्नेछन् । त्यसकारण सहीलाई सही र गलतलाई गलत भनेर देखाउँदा मात्रै विश्वसनीयता टिक्छ र गलत भनेर लेखियो भने भएको विश्वसनीयता पनि गुम्छ ।’

प्रधानन्यायाधीश राउतले अदालतबाट भएका आदेश र फैसलामा स्वच्छ टिप्पणी गर्नसमेत आग्रह गरेका छन् । आदेश वा फैसलामाथिको टिप्पणीले कहीँ कतै कमजोरी भएमा सुधारका लागि ठाउँसमेत बन्ने भएकाले त्यस्ता टिप्पणी स्वागतयोग्य हुने उनले बताए । 

प्रधानन्यायाधीश राउतले आफू न्यायपालिका सुधारका लागि लागिपरेको भन्दै त्यसका लागि सञ्चारमाध्यमलाई समेत साथमै लिएर हिँड्न चाहेको बताए । अहिलेको न्यायपालिका पारदर्शी रहेको भन्दै कसैले पारदर्शी छैन भन्यो भने त्यसमा आफ्नो गम्भीर आपत्ति हुने राउतले बताए । उनले भने, ‘अहिलेको न्यायपालिका पारदर्शी छ, कसले छैन भन्यो भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ । सबै प्रक्रिया कानुनसम्मत र पारदर्शी छ । पारदर्शितामा यो अदालत अब्बलरुपमा चलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?