बारम्बारको प्रहारले हाम्रा छाला पनि गैँडाको जस्तै भइसकेको छ : न्यायाधीश मल्ल

लोकपथ
2.7k
Shares

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सञ्चारमाध्यमले बेलाबेलामा गर्ने प्रहारले आफूहरूको छाला पनि गैँडाको जस्तै भएको बताएकी छिन् । न्यायाधीश र न्यायालयमाथि पटक पटक प्रहार भएको भन्दै अहिले त आफूहरूको मन दुख्न छाडेको बताएकी हुन् ।

बिहीबार न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले अहिले सबैतिर अविश्वास र नकारात्मकता बढेको भन्दै त्यसलाई सञ्चारमाध्यमले चिर्नुपर्ने बताएकी हुन् । अहिले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा नकारात्मक समाचार र विचार आउने गरेको र त्यसबाट न्यायाधीश र न्यायपालिका प्रताडित बन्ने गरेको भन्दै न्यायाधीशले बोल्नेसमेत ठाउँ नभएको बताएकी हुन् ।

न्यायपालिकाको जनआस्था वृद्धि गर्न र त्यसभित्र विश्वास र सकारात्मकता ल्याउने काम सञ्चारमाध्यमकै भएको उनले बताइन् । उनले भनिन्, ‘हामी दुई वटा समस्याबाट गुज्रिरहेका छौँ, त्यो एउटा अविश्वास हो भने अर्को आफूबाहेक अरूचाहिँ गलत र नकारात्मकता । त्यो फैलाउने भनेको सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसमेत छन् । अहिले अविश्वास र नकारात्मकता बढी छ, त्यो भित्र विश्वास र सकारात्मकता ल्याउने काम पनि सञ्चारमाध्यमकै हो । मिडियाकै हो । नकारात्मकताको मार न्यायाधीश र न्यायपालिकालाई समेत परेको छ । अहिले त न्यायाधीशको छाला पनि गैँडाको जस्तै भइसकेको छ, अचेल दुख्न छाडिसकेको छ ।’

पहिले आफू कानुन व्यवसायी हुँदा प्रत्येक दिन सञ्चारमाध्यममा बोल्ने गरेको स्मरण गर्दै मल्लले अहिले आफूलाई बोल्न डर लाग्ने समेत बताइन् । उनले भनिन्, ‘म प्रत्येक दिन बोल्ने मान्छे न्यायाधीश भएपछि डराउन थालेछु, भाग्न थालेछु । किनभने हाम्रा बोल्ने सीमाहरू छन् । कहाँ, कति, के बोल्ने भन्ने सीमा र माध्यमहरू छन्, हामीले बोल्ने भनेको फैसलाबाट नै हो ।’

नेपालको न्यायपालिका दक्षिण एसियामै एक नम्बरमा रहेको भन्दै त्यसको एक मात्रै कारण नेपालको न्यायपालिका स्वतन्त्र छ भन्ने सन्देशले भएको र त्यो सन्देश विघटित संसद्को पुनर्स्थापनाले गएको मल्लले बताइन् ।

न्यायाधीश मल्लले न्यायाधीश र सञ्चारकर्मीमा धेरै कुरा समानता रहेको भन्दै कोही पनि पूर्वाग्रही बन्न नमिल्ने बताइन् । कुनै मुद्दा वा विषयमा एकपक्षीय सोचियो भने पूर्वाग्रही भइने भन्दै पत्रकार र न्यायाधीश कसैप्रति पूर्वाग्रही बन्न नमिल्ने उनले बताइन् ।

कुनै पनि प्रकृतिको प्रभाव स्वीकार्य छैन

न्यायाधीश मल्लले न्यायपालिका र न्यायाधीश मिडिया ट्रायलको सिकार भएको भन्दै त्यसमा गम्भीर बनिदिन आग्रहसमेत गरेकी छिन् । एक घटनाको स्मरण गर्दै मल्ले भनिन्, ‘केही समय अगाडि निर्णय सुनाउने दिन बिहानै ठुलो टाइटलमा समाचार आएपछि त्यस दिन निसु नै भएन । किनभने मिडियाले प्रभाव पार्ने काम गरिरहेका छन् र न्यायाधीश मिडिया ट्रायलका कारण भागिरहेका छन् । न्यायपालिकालाई कुनै पनि प्रकारको प्रभाव सैह्य हुँदैन, चाहे त्यो मिडिया, आर्थिक वा कार्यपालिकाको प्रभाव नै किन नहोस्, त्यो स्वीकार्य छैन ।’

न्यायाधीश मल्लले न्याय सबैलाई बराबर हुने भन्दै कुनै व्यक्ति सेलीब्रेटी हुँदैमा कम वा बढी सजाय गर्न नहुने र नगरिने स्पष्ट पारिन् । उनले भनिन्, ‘न्याय सबैका लागि समान हो चाहे त्यो सेलीब्रेटी होस् वा सर्वसाधारण । सेलीब्रेटी हुँदैमा फैसला गर्नबाट न्यायाधीश भाग्न मिल्दैन र न्याय सबैका लागि समान हुने भएकाले जो भए पनि एउटै हुनुपर्छ र हुन्छ ।’

तथ्यमा आधारित समाचार हुँदा अवहेलनामा कारबाही हुँदैन

न्यायाधीश मल्लले सबैको अन्तिम लक्ष्य भनेको सही सूचना सम्प्रेषण गर्ने र जनतालाई सही सूचना दिएर सशक्त बनाउने नै रहेको भन्दै सही समाचार दिँदा पत्रकारले डराउनु नपर्ने बताइन् । उनले भनिन्, ‘पत्रकार किन डराइरहेका छन् ? जब तपाईँ सत्य र तथ्यमा आधारित भएर समाचार लेख्नुहुन्छ भने डराउनु पर्दैन । तर नकारात्मकताको अवस्थाबाट सकारात्मक र अविश्वास बाट विश्वासमा परिणत गर्न मिडियाको भूमिका रहोस् ।’

‘भित्रका न्यायाधीश र बाहिरबाट गएका न्यायाधीश’ मा मल्लको आपत्ति
न्यायाधीश सपना प्रधान मल्लले अहिले पनि न्याय सेवाबाट गएका न्यायाधीश र कानुन व्यवसायबाट गएका न्यायाधीश भनेर फरक दृष्टिकोण रहने गरेको भन्दै त्यसमा आपत्ति जनाइन् । सञ्चारमाध्यमले समाचार लेख्दा वा बनाउँदा पनि सोही विषय उल्लेख गर्ने गरेको र एउटै फैसलामा क्याडर जज र अन्य न्यायाधीशको सम्बन्धमा फरक दृष्टिकोण राख्ने गरेको गुनासो गरिन् ।
उनले भनिन्, ‘भित्रबाट गएको न्यायाधीश र बाहिरबाट गएको न्यायाधीश भनेर टिप्पणी भइरहेको छ, त्यो किन हुन्छ ? अन्यत्रबाट न्यायाधीश बन्न गएकाहरू पनि केही भएरै गएका होलान् नि । कतिपय फैसलामा अन्यत्रबाट गएका न्यायाधीशले गरेमा समाचारका शीर्षक बन्छन् तर न्याय सेवाबाट गएका न्यायाधीशले गरेमा समाचार बन्दैनन् किन ? त्यस्तो किन हुन्छ ?’

न्यायाधीश मल्लले न्यायपालिकाको जनआस्था वृद्धिमा सञ्चारमाध्यमको भूमिका अहम् रहने भन्दै सही सूचना सम्प्रेषण गरी जनतालाई सुसूचित पार्नसमेत आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?