कार्यपालिकाले राम्रो काम नगर्दा अदालतमा धेरै रिट आए : न्यायाधीश फुयाँल

लोकपथ
2k
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले कार्यपालिकाले ठिक ढङ्गले काम नगर्दा अदालतमा मुद्दाको सङ्ख्या बढेको बताएका छन् । अदालतमा मुद्दाको सङ्ख्या बढ्नुमा राज्यका अङ्गले सही ढङ्गले काम नगर्नु नै कारक रहेको उनको बनाई थियो ।

बिहीबार न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश फुयाँलले राज्यका अङ्गहरूले सही ढङ्गबाट काम नगरेको र त्यसको असर अदालतसम्म आइपुगेको बताए । अदालतमा मुद्दाको सङ्ख्या बढ्नुमा धेरै रिट नै रहेको र सर्वोच्चमा धेरै रिट आउनुमा कार्यपालिकाले सही ढङ्गबाट काम नगर्नु नै रहेको बताए ।

सर्वोच्च अदालतमा मुद्दाको सङ्ख्या धेरै रहेको र पालो आउन लामो समय लाग्ने गरेको सम्बन्धमा थप स्पष्ट पार्दै न्यायाधीश फुयाँलले भने ‘३ वर्ष अगाडि सर्वोच्च अदालतमा १७ वर्ष पुरानो मुद्दा थियो र ३३ हजार थान मुद्दा थियो । अहिले हामीले पूरा समय दिएर मुद्दाको सङ्ख्या घटाइरहेका छौँ । हामी आगामी असार मसान्तसम्ममा ८ वर्ष कटेका मुद्दा बाँकी नरहने गरी काम गरिरहेका छौँ, जुन अहिले १४३ थान रहेको छ । आगामी ३ वर्षभित्र हामी मुद्दाको सङ्ख्यालाई २० हजार थानमा ल्याउनेछौँ र ५ वर्ष कटेका मुद्दा बाँकी रहने छैनन् । त्यस कारण सर्वोच्च अदालतले काम गरिरहेको छ र भइरहेको छ भनेर बुझ्नुपर्छ ।’

अदालतमा मुद्दाको सङ्ख्या बढ्नु र फैसलामा ढिलाइ हुनुमा भौतिक पूर्वाधार र जनशक्ति पनि कारक रहेको न्यायाधीश फुयाँलले बताए । सरकारले अदालतलाई दिएको बजेट अत्यन्तै कम भएको र त्यसले अदालतका न्यूनतम आवश्यकता पूरा गर्न पनि नसकिएको फुयाँलले बताए ।

यदि कार्यपालिकाले सबै राम्रो काम गरिदिएको भए यति धेरै रिट किन आउँथे र सर्वोच्चमा ……..

उनले भने, ‘सरकारको सबैभन्दा कम बजेट आउने क्षेत्र हो अदालत । मधेसका अदालतमा फ्यान छैनन्, आवश्यक कम्प्युटर समेत छैनन् । आवश्यक कम्प्युटर समेत नहुँदा पालो कुरेर काम गर्नुपर्ने अवस्था छ, त्यस कारण समयमै फैसला दिन समेत सकिएको छैन, यो कुरा कसले बुझिदिने ? यदि कार्यपालिकाले सबै राम्रो काम गरिदिएको भए यति धेरै रिट किन आउँथे र सर्वोच्चमा ?’

न्यायाधीश फुयाँलले न्यायाधीशहरू दैनिक १६ देखि १८ घण्टासम्म काम गरिरहेको समेत बताए । उनले भने, ‘हामी रातको ११–१२ बजेसम्म काम गर्छौँ र बिहान ६ बजेबाटै अदालतकै काम गरिरहेका हुन्छौँ । अदालतको काम भनेको अदालतमा बसेर बहस सुन्ने र फैसला गर्ने मात्रै हुँदैन, फैसला भएपछि फैसला लेखन त्यसमा आफ्नो राय र संयुक्त, पूर्ण वा अन्य इजलासबाट आएका फैसला अध्ययन गर्नु पनि रहेको हुन्छ । यी विषयमा पत्रकारले रिपोर्टिङ नै गरेका छैनन् ।’

न्यायाधीश सर्वोच्च अदालत र अन्य अदालतको नीति पत्रकारलाई खुला राख्ने भन्ने नै रहेको समेत बताए । नितान्त व्यक्तिगत विषय, सम्पत्तिको विषय आदिमा केही कडाइ गरिएको भए पनि अन्य सबै कुरामा अदालत खुला रहेको भन्दै सूचना पाउनबाट वञ्चित हुन नपर्ने न्यायाधीश फुयाँलले बताए ।

अदालत, न्यायाधीश र पत्रकार एक अर्काका परिपूरक रहेको भन्दै न्यायाधीश फुयाँलले अदालतका फैसलाहरू सहज र सरल रूपमा जनतासमक्ष पुराउन पत्रकारको महत्त्वपूर्ण भूमिका रहने भन्दै पत्रकारले न्यायालयको जनआस्था वृद्धि हुने गरी समाचार सम्प्रेषण गर्नुपर्ने पनि बताए । उनले भने, ‘अदालतको काम र आदेश वा फैसलाहरू जनतासमक्ष जाँदैनथे । अहिले जान थालेको छ त त्यसको कारण भनेको सञ्चारमाध्यम नै हुन् । मुद्दाका विषयवस्तुहरू जटिल नै हुन्छन्, फैसला जटिल नै हुन्छन् तर पत्रकारले सहज भाषामा समाचार आउँदा सबैले बुझेका छन् । त्यसैले अदालतको मान बढे मात्रै व्यक्तित्व पनि बढ्ने भएकाले सबैले सही ढङ्गले सही काम गरिदिनुपर्छ ।’

न्यायाधीश फुयाँलले पत्रकारले अदालत वा न्यायालयमा गलत भएको छ भने तथ्य र प्रमाणसहित समाचार लेख्नुपर्ने बताए । उनले भने, ‘तथ्यसहितको समाचार लेख्दा अदालतको मानहानि हुँदैन, खुलस्त भएर समाचार लेख्न सकिन्छ । समाज नकारात्मक नै छ र नकारात्मक कुरा नै बढी खोज्छन् । तर न्यायालयको कुरा देखाउँदा खुलेर भन्नुपर्छ र लेख्नुपर्छ ।’

सञ्चारमाध्यमले समाचार लेख्दा दैनिक घटनाक्रम र के भइरहेको छ भन्ने सम्बन्धमा मात्रै समाचार लेख्ने गरेको भन्दै कानुनी विषयका रिपोर्टिङ प्रोसेस बेस्ड मात्रै नभएर कन्टेन्ट बेस हुनुपर्ने समेत फुयाँलले बताए ।

सञ्चारमाध्यम र न्यायालय एक अर्काका परिपूरक

जब लोकतन्त्रमा चुनौती हुन्छ, त्यति बेला अदालतको आवश्यकता पर्छ । जब व्यक्तिगत स्वतन्त्रता, वाक स्वतन्त्रताको कुरा आउँछ, तब अदालत चाहिन्छ ……

न्यायाधीश फुयाँलले न्यायालय र सञ्चारमाध्यम एक अर्काका परिपूरक रहेको भन्दै लोकतन्त्रमा चुनौती आउँदा पत्रकार र न्यायालय दुबैलाई दुवै चाहिने बताए । फुयाँलले भने, ‘जब लोकतन्त्रमा चुनौती हुन्छ, त्यति बेला अदालतको आवश्यकता पर्छ । जब व्यक्तिगत स्वतन्त्रताको विषय आउँछ, तब अदालत चाहिन्छ, जब वाक स्वतन्त्रताको कुरा आउँछ, तब अदालत चाहिन्छ । अनि यी विषय बाहिर ल्याउन पत्रकार र सञ्चारमाध्यम चाहिन्छन्, त्यस कारण यी एक अर्काका परिपूरक हुन् ।’

न्यायाधीश फुयाँलले नेपालको न्यायपालिका दक्षिण एसियामै उच्च स्थानमा रहेको भन्दै यहाँका फैसलाहरू विश्व स्तरीय विश्वविद्यालयमा समेत अध्ययन हुने गरेको फुयाँलले बताए । उनले भने, ‘हाम्रा देशका न्यायाधीशका विषयमा टावरिङ फिगर भनेर अन्यत्र पढिन्छ, हाम्रा न्यायाधीश हरूले गरेको फैसला अन्तर्राष्ट्रिय रूपमा पढाइन्छ । दक्षिण एसियामा हाम्रो न्यायालय एक नम्बरमा छ ।’

न्यायाधीश फुयाँलले न्यायाधीश नियुक्तिका विषयमा केही समस्या भए पनि अन्य विषयमा नेपाल र अन्तर्राष्ट्रिय रूपमा नेपालको न्यायालयको साख ठुलो रहेको बताए । उनले भने, ‘हाम्रोमा न्यायाधीश नियुक्ति लगायतका केही समस्या छन्, यद्यपि हाम्रो न्यायालयको साख बढी छ । त्यसैले यस्तो रिपोर्टिङ नहोस् कि हामी यस्तै छौँ, खराब नै छौँ भन्ने भाष्य नबनोस् । एक अर्काप्रति सहानुभूति पनि राखौँ, खबरदारी पनि गरौँ ।’

कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, तिलप्रसाद श्रेष्ठ, विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर लगायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?