काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ । कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज स्याङ्जा पुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयलगायतले स्वागत गरेका हुन् ।
सडकमार्ग हुँदै यहाँ आएकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए ।
भण्डारीले आज दिउँसो शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
‘पूर्वराष्ट्रपति भण्डारी आलमदेवी मन्दिरमा पूजाआजा तथा यस ठाउँको अवलोकन गर्नका लागि आउनुभएको हो’, उनले भने, ‘नितान्त पूजाआजाका लागि आउनुभएकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया