जीबीसहित १९ जनाविरुद्ध आज थप अभियोग दर्ता हुने, रविसहितको पूरक अभियोग आइतबार मात्रै लगिने

लोकपथ
742
Shares

काठमाडौं । सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीको अभियोगमा थप अभियोग आज शुक्रबार जिल्ला अदालत कास्कीमा दर्ता गर्ने भएको छ । सरकारी वकिलको कार्यालयले यसअघि सूर्यदर्शन सहकारी ठगीको अभियोगमा १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार थप अभियोग पेस गर्ने तयारी गरेको छ ।

यसअघि उनीहरूविरूद्ध सहकारी ठगीको अभियोग मात्र लगाइएको थियो । यस्तै, पूरक अभियोग भने आइतबार मात्र दर्ता गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, रामप्रसाद खनाल, लीला पछाई र कृष्ण गुरूङविरूद्ध आइतबार मात्रै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पूरक अभियोग लैजाने भएको छ । उनीहरूविरूद्ध पनि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग लैजाने सरकारी वकिलको तयारी छ ।

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम लगेर हिनामिना गरेको आरोप उनीहरूमाथि लागेको छ । कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सूर्यदर्शन सहकारी ठगीका अभियुक्तविरुद्ध थप अभियोग आज शुक्रबार र पूरक अभियोग भने आइतबार मात्रै जिल्ला अदालतमा दर्ता गर्ने बताएकी छन् । ‘थप अभियोग आजै नै जिल्ला अदालतमा दर्ता गर्छौँ, बाँकी पूरक अभियोग आइतबार लैजान्छौँ,’ उनले भनिन् ।

सरकारी वकिलको कार्यालयले यसअघि सो सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धिरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू कविता तामाङ, हेमन्त अधिकारी र प्रमोद भट्टराई, पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङसहित १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यो मुद्दा अदालतमा विचाराधीन छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले कानुन अनुसार हदम्यादभित्रै अदालतमा मुद्दा दर्ता हुने बताइन् । उनले भनिन्, ‘कानुन बमोजिम हदम्यादभित्रै मुद्दा दर्ता हुन्छ, थप अभियोग आज नै अदालतमा पेस गर्छौँ, बाँकी भोलि शनिबार भएकाले आइतबार मुद्दा दर्ता हुन्छ ।’ उनले क–कसलाई कुन-कुन कानुन र दफा लगाउने भन्नेबारे छलफल तयारी भइरहेको बताइन् । लामिछानेसहित ५ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्ने हदम्याद शुक्रबार राति १२ बजे सकिँदै छ । हदम्यादको भोलिपल्ट बिदाका दिन परे त्यसपछि अदालत खुल्ने पहिलो दिन मुद्दा दर्ता गर्नुपर्ने अभ्यास रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

कानुनअनुसार सहकारी ठगीमा २५ दिन, सङ्गठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार ९० दिनसम्म अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ । सहकारी पीडितले गत वर्ष माघ २२ गते किटानी जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो । पूर्वडीआईजी छविलाल जोशीलाई भने असोज ६ गते पक्राउ गरिएको थियो । एउटै मुद्दा भएकाले जोशी पक्राउ परेको दिनदेखि हदम्याद गणना गरिएको छ । उनीहरूविरूद्ध एउटै मुद्दा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । थप १४ जनाको ठेगाना नखुलेकाले ठेगाना खुलेपछि अनुसन्धान गर्ने र प्रतिवादी बनाउने राय दिएको थियो । कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्त शर्माका अनुसार, सूर्यदर्शन सहकारी ठगीमा अहिले ९ जना पुर्पक्षका लागि कारागारमा र ५ जना हिरासतमा छन् । यस्तै सहकारी ठगीका मुख्य योजनाकार मानिएका जिबी राइसहित ३७ जना फरार छन् । प्रहरीले उनीहरूसँग १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्न पनि सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?