काठमाडौं । महोत्तरीमा लुटेराहरूद्वारा ७० वर्षीय वृद्धको हत्या भएको छ । मनरा शिसवा नगरपालिका–४ साढा गाउँका ७० वर्षीय सुशील झाको हत्या भएको हो ।
आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।
झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ । अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गर्दैछ भने घरधनी सुशीलको शव पनि अहिले घटनास्थलमै रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया