मधेसमा पहिलो फोहर प्रशोधन केन्द्र सञ्चालन

लोकपथ
42
Shares

काठमाडौं । मधेस प्रदेशमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । महोत्तरीको बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंको सहकार्यमा बर्दिबास–८ मा निर्मित फोहरमैला प्रशोधन केन्द्र शुक्रबार सञ्चालन भएको हो ।

प्रारम्भिक लागत एक करोड २० लाखको खर्चमा निर्मित केन्द्र मधेसकै पहिलो भएको केन्द्रका प्रबन्ध निर्देशक सुरेन्द्र साहको भनाइ छ ।  

साझेदार कम्पनी हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंले २० वर्षको अवधि प्रशोधन केन्द्र सञ्चालनको सहमति नगरपालिकाबाट पाएको छ । यस अवधिमा फोहर संकलन, व्यवस्थापन, प्रशोधनबाट हुने आम्दानीबाट १२ प्रतिशत नगरपालिकाले प्राप्त गर्ने सम्झौता रहेको दुवै पक्षले पुष्टि गरेका छन् ।

सञ्चालनमा आएको केन्द्रले शुक्रबारदेखि नै नगरक्षेत्रबाट संकलित फोहर प्रशोधन गर्न थालेको छ । अहिले फोहर प्रशोधन गरेर खरानी बनाइने इन्सिनिटर मेसिन मात्र जडान छ । अब केही महिनाभित्रै थप मेसिन जडान गरेर मल बनाउन थालिने केन्द्रका प्रबन्ध निर्देशक साहले स्पष्ट  पारे ।  

यो केन्द्रले अब अहिलेसम्म बर्दिबास नगरक्षेत्रका घरघरबाट र चोक बजार क्षेत्रबाट संकलन हुने फोहर नियमित पेलेर खरानी बनाउने छ । केन्द्रमा जडित इन्सिनेटर मेसिन दैनिक छ टन फोहर पेल्ने क्षमताको रहेको प्रबन्ध निर्देशक साहको भनाइ छ । अहिले बर्दिबास नगरक्षेत्रमा चार टन फोहर दैनिक संकलन हुँदै आएको छ ।

मधेस प्रदेशमै पहिलो सञ्चालन भएको यो केन्द्रमा अहिले फोहर पेलेको हेर्न सर्वसाधारणको धुइरो लागेको छ । यो केन्द्रको सञ्चालनले मधेसमा फोहर व्यवस्थापनमा देखिँदै व्यहोरिँदै आइएको समस्या समाधानमा नयाँ उपलब्धि हासिल भएको यहाँका बुद्धिजीवी बताउँछन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?